देशभर रातिदेखि नै निरन्तर वर्षा, पाँच प्रदेशमा ठूलो पानी पर्ने


१७ असार २०७८, बिहीबार
raining

काठमाडौं, १७ असार । देशभर फेरि मनसुन सक्रिय भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश–१, प्रदेश–२, वागमती र गण्डकी प्रदेशका धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाइएको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मेघगर्जन र चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात सेवा प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हिजोबाट मनसुन थप सक्रिय भएको हो । यसअघि मनसुन शुरु हुन बित्तिकै सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची नदीमा लेदोसहित आएको बाढीले ठूलो परिमाणमा जनधनको क्षति गरेको थियो । ठूलो परिमाणमा जनधनको क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुका साथै घरबारबिहीन भएका छन् ।

यो वर्ष अघिल्लो वर्षको तुलनामा धेरै वर्षा हुने विभागले बताउँदै बाढी तथा भू–क्षयबाट हुने सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी अपनाउन विभागले सरोकारवाला निकायलाई सचेत गराइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७