संसद विघटनको मुद्दा : आज पनि राष्ट्रपति र प्रधानमन्त्रीका निजी वकिलले बहस गर्दै


१७ असार २०७८, बिहीबार
sarbochha

काठमाडौं, १७ असार । प्रतिनिधि सभा विघटनको मुद्दामा आज (बिहीबार) पनि राष्ट्रपति र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गर्दैछन् । बिहीबारको बहस पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले शुरु गर्दैछन् । खरेलका लागि एक घण्टा समय छुट्याइएको छ । यसअघि संसद विघटन हुँदा उनी महान्यायाधिवक्ता थिए ।

खरेलपछि बरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, पर्शुराम कोइराला, सुवाश आचार्य, महेश नेपाल, विश्वमणि अधिकारी, टंक दुलाल, इश्वरी भट्टराई, भोजराज आचार्य, रवीनारायण खनाललगायतले बहस गर्दैछन् । उनीहरुका लागि तोकिएको साढे ४ घण्टा समय बाँकी छ । उनीहरुले आजै बहस सक्ने सम्भावना कम छ । यसअघि बुधबार बरिष्ठ अधिवक्ताहरु सुशील पन्त, सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।

उनीहरुको बहस सकिएपछि सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । उनीहरुका लागि एक घण्टा समय छुट्याइएको भए पनि केही समय थप गर्ने इजलासको तयारी छ । त्यसपछि पुनः रिट निवेदक पक्षका कानुन व्यवसायीले ३ घण्टा जवाफी बहस गर्ने छन् । जवाफी बहसपछि एमिकस क्युरीलाई राय राख्न २ घण्टा समय तोकिएको छ ।

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० रिट दर्ता भएका छन् । अहिले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४६ सांसदको रिटमा सुनुवाई भइरहेको हो ।

उक्त मुद्दा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७