दर्जनौं महिला र बालिकाको संवेदनशील अङ्गहरु छुने ३६ वर्षीय तामाङ पक्राउ


१७ असार २०७८, बिहीबार
amfkdkgm1625118902

रामेछाप, १७ असार । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्ग समेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमारसिं तामाङलाई पक्राउ गरेको छ ।

तामाङले गत पुसयता दर्जनौं महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ । तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिला समेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौं, अहिले आएर पक्राउ गर्न सफल भयौं’, उनले भने ।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिंडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए ।

तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरी समेत दिएका छन । तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७