बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल


१७ असार २०७८, बिहीबार
mal

वीरगञ्ज, १७ असार । बंगलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।

जीटुजी सम्झौता अनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउने छ । तीमध्ये बाँकी रहेको पाँच हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रबन्धक गोरखनाथ केसीले बताए ।

उनका अनुसार बंगलादेशबाट उपलब्ध हुने ५० हजार मेट्रिक टन बाहेक थप दुई हजार मेट्रिकटन युरिया मल नेपाल आउने भएको छ । यस वर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उनको भनाइ छ । सम्झौता अनुसार हालसम्म नेपाल सरकारले सबै मल प्राप्त गरी सक्नुपर्नेमा अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भएको प्रबन्धक केसीले बताए ।

सम्झौता अनुसारको बाँकी पाँच र थप दुई गरी कुल सात हजार मेट्रिक टन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगन्ज, विराटनगर र भैरहवामा आइपुग्ने बताइएको छ । नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन (जीटुजी) मार्फत खरिद गरेर बंगलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउन लागिएको हो ।

अघिल्लो वर्षसम्म मलको अभाव खेपिरहेका किसान यो वर्ष समयमै मल पाउँदा खुशी भएका छन् । केही दिनयता मनसुन सक्रिय भई पानी परेकाले पर्सामा हालसम्म ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । समयमै धान रोपाइँ सम्पन्न हुँदा यो वर्ष जिल्लामा २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्साका अधिकृत सुरेशप्रसाद चौरसियाले बताए । पर्सामा कुल ४६ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा अहिले युरिया मल एक हजार ७०० मेट्रिक टन, डीएपी ७६० मेट्रिक टन र पोटास ८२० मेट्रिक टन मौज्दात अवस्थामा रहेको छ । मौज्दात रहेको उक्त मलले पहिलो चरणको धान खेतीका लागि पर्याप्त हुने देखिन्छ । पर्सा जिल्लास्थित १३१ थोक विक्रेतामार्फत सो मल किसानसम्म पुग्ने गरिन्छ । सो कार्यालयले थोक विक्रेतालाई एक पटकमा १३० बोरासम्म मल दिने गरेको छ । विक्रेताहरुले स्थानीय तहले तोकेको मूल्यमा किसानहरुलाई मल बिक्री गर्ने गरेका छन् ।

कतिपय विक्रेताले किसानसँग तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गर्ने गरेको गुनासो समेत आउन थालेपछि सम्बन्धित स्थानीय तहले त्यस्ता कालोबजारी गर्ने थोक बिक्रेतालाई कारबाही गर्नुपर्ने माग किसानको छ । पर्सामा ९० प्रतिशत किसानले व्यावसायिक रुपमा धान खेती गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७