राष्ट्रियसभामा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने


१७ असार २०७८, बिहीबार
bidhya bhandari samsad

काठमाडौं, १७ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएकी छिन् । आइतबार वा सोमबारतिर राष्ट्रपतिले सम्बोधन गर्ने गरी तयारी भइरहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपति भण्डारीले राष्ट्रिय सभालाई सम्बोधन गर्न लागेकी हुन् । बिहीबार हिउँदे अधिवेशन शुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेबारे जानकारी गराएका हुन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय सभामा सम्बोधन गर्ने चासो व्यक्त गरेको र त्यसको तयारी थालिइसकिएको अध्यक्ष तिमिल्सिनाले बताएका थिए ।

article 95 0172021102055 1000x0 1

राष्ट्रिय सभाको आठौं अधिवेशन संघीय संसद् भवन बानेश्वरमा बिहीबारबाट शुरु हुँदैछ । प्रतिनिधिसभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदनको बैठक शुरु हुन लागेको हो । बिहीबारको बैठक अपरान्ह ४ बजेदेखि शुरु हुने कार्यसूची रहेको छ । प्रतिनिधिसभा विघटन भएको अवस्थामा सांसदहरूले राष्ट्रिय सभामा मुलुकमा विविध समस्याका विषय उठाउने तयारी गरेका छन् । सातौं अधिवेशन गत पुस २६ मा अन्त्य भएको थियो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको सातौं अधिवेशनको बैठक बसेको थियो । दोस्रो पटक गत वैशाख ७ गते राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा फेरि विघटन गरेको मुद्दा अहिले सर्वोच्च अदालतमा सुनुवाइका क्रममा छ । एउटा बैठक अन्त्य भएको ६ महिनामा अर्को बोलाउनु पर्ने संवैधानिक प्रावधानअनुसार राष्ट्रिपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रिय सभा सचिवालयका अनुसार बैठकमा यसअघि सरकारले जारी गरेका १२ वटा अध्यादेश प्रस्तुत गरिनेछ ।

त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरोले देशका विभिन्न भागमा पुर्‍याएका क्षति र राहत तथा उद्धारकार्यका बारेमा जानकारी गराउने राष्ट्रिय सभा सचिवालयले जनाएको छ । नेपालको इतिहासमा राष्ट्रपतिबाट राष्ट्रिय सभाको मात्रै बैठकलाई सम्बोधन गर्न लागेको यो पहिलो पटक हो । यसअघि राष्ट्रपतिले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुबै संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७