सांसदले कमाण्डर फेर्न मिल्दैन : अधिवक्ता महतो


१७ असार २०७८, बिहीबार

काठमाडौं, १७ असार । बरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले राष्ट्रपतिले सांसदलाई कमाण्डर छाड्न मिल्दैन भनेर रोकेको बताएका छन् । उनले दलीय व्यवस्थामा सांसदहरुले राष्ट्रपतिकहाँ गएर ‘कमाण्डर परिवर्तन गर्न पाउँ’ भन्न नमिल्ने जिकिर गरेका हुन् ।

संसद विघटनको मुद्दामा बिहीबार बहस गर्ने क्रममा महतोले बहुदलीय शासन प्रणालीमा दलको शासन हुने बताए । ‘सरकार गठनको खेल भनेको संसदभित्र नै हुन्छ । त्यो खेलको खेलाडी भनेको संसदीय दल हुन्छ । खेल खेल्ने क्याप्टेन संसदीय दलको नेता हुन्छ । कामाण्डर दलको नेता भयो र कमाण्डरले जे भन्छ त्यो मान्नै पर्ने हुन्छ । टिम छाड्न सक्नु हुन्छ, तर टिममा बसेर टिमको विरुद्ध क्रियाकलाप हुन सक्दैन । दलको नेता कमाण्डर हुन्छ र त्यो भन्दा बाहिर जान मिल्दैन’, महतोले भने ।

एमालेका नेता केपी ओली भएको अवस्थामा शेरबहादुर देउवालाई मेरो कमाण्डर बनाई पाउँ भनि एमाले सांसदले भन्न नमिल्ने महतोको तर्क थियो । ‘तपाईको टिम क्याप्टेन केपी ओली हुँदाहुँदै आफ्नो टिमको क्याप्टेन चेञ्ज गर्न मिल्दैन भन्नु भएको हो राष्ट्रपतिले । सँगसँगै टिम छाड्न पाउनु हुन्छ, तर त्यही रहेर क्याप्टेन चेञ्ज गर्न सक्नु हुन्न भन्नु भएको हो’, महतोले बहसका क्रममा भने ।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधि सभाका सदस्य पार्टीप्रति उत्तरदायी हुन्छन्, साथसाथै जनता संसद्प्रति पनि उहाँको दायित्व हुन्छ संसद् विघटन हुन थालेपछि । उहाँहरुलाई सांसद जोगाउने अधिकार हुन्छ होला नि त भन्दै सोधेका थिए ।

जवाफमा महतोले दलको सदस्य भएपछि दलको निर्णय मान्नु पर्ने बताएका छन् । आफ्नै टिम हुँदाहुँदै अर्काको टिममा गएर आफ्नो टिमविरुद्ध खेल्न नपाइने उनले जिकिर गरे । ‘अर्को टिमको क्याप्टेनले पनि अर्काको खेलाडी लिएर खेल खेल्न पाउँदैन’, महतोले भने, ‘खेलको नियम मान्नु पर्छ ।’ महतोभन्दा पहिले पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले बहस गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७