देशमा बडाहाकिमको जस्तो शासन भयो : राधेश्याम अधिकारी

‘जति प्रचार गरे पनि सरकारले खोप ल्याउन नसकेको कुरा तीतो यथार्थ हो’


१७ असार २०७८, बिहीबार
898d1fbf28d84f738813ac34920d4b6b w1000 h500 cp

काठमाडौं, १७ असार । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले नागरिकले अहिले राणाकालीन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परिरहेको बताएका छन् ।

आजबाट शुरु भएको राष्ट्रिय सभामा बोल्दै सासद अधिकारी प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ भन्दै प्रश्न गरेका छन् । सांसद अधिकारीले राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न उठाएका हुन् । उनले सरकारले ४५ लाखभन्दा बढी खोप उपलब्ध गराउन नसकेको बताउँदै त्यो खोप २० लाख जनसंख्याका लागि मात्र ठीक भएको बताए । ७ दशमलव ५ प्रतिशतले जनताले मात्र खोप लगाउन पाएको भन्दै उनले १० लाख खोप मात्र खरिद गरेको उल्लेख गरे ।

कोरोनाविरुद्धको खोप ल्याउने भनेर जतिसुकै प्रचार गरे पनि सरकार असफल भएको उनले बताए । ‘खोप ल्याउने भनेर सरकारले जति प्रचार गरे पनि खोप ल्याउन नसकेको तीतो यथार्थ हो । यसले हाम्रो कुटनीतिक प्रयास कस्तो रहेछ भन्ने यसले देखाउँछ’, अधिकारीले भने, ‘कोभिडकालमै तीन पटक स्वास्थ्यमन्त्री फेरिएको छ । सीसीएमसीको पुनर्गठन गरेर सेनाका अवकासप्राप्त जर्नेललाई जिम्मा दिन परेको छ । कोरोना खोपमा राजनीतिक नेतृत्व फेल भएको छ ।’

पहिलो पटक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले एकमतले अस्वीकार गरेको अवस्थामा फेरि विघटन गरेर उनले बताएका छन् । राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यो अदालतले हेर्ने उनको भनाई छ । विदेशमा कोरोनाको समयमा भएका निर्वाचनलाई देखाएर यहाँ पनि गर्न सकिन्छ भन्न नमिल्ने उनले बताए । कोभिडबारे सरकारको प्रक्षेपण के छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

सरकार उल्टो दिशामा हिँडेको अधिकारीको आरोप लगाएका छन् । ‘प्रधानमन्त्रीले जनताको संसदलाई विश्वास गर्नु भएन । आफ्नो पार्टीलाई जोगाउन सक्नु भएन । आफ्ना सहयोगीलाई समेट्न नसक्नेले प्रतिपक्षीलाई कसरी समेट्नु होला मलाई विश्वास छैन’, उनले भने । प्रधानमन्त्रीका कारण राष्ट्रपतिको गरिमा घटेको उनले बताए । राष्ट्रपतिको प्रतीरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ला र ? उनले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७