खनाल–नेपाल समूहको निष्कर्ष : ओलीको एकतर्फी कदमले एकता असम्भव, सहमतिबाट सम्भव


१८ असार २०७८, शुक्रबार
Madhav jhalanath1

काठमाडौं, १८ असार । पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा महाधिवेशन आयोजक कमिटी भंग गरेको अर्को दिन एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सहमतिबाट मात्रै एकता सम्भव रहेको निष्कर्ष निकालेको छ । एकतर्फी कदमले नभई संवाद र सहमतिको प्रक्रियाबाट पार्टी एकता जोगाउन सकिने खनाल–नेपाल समूहको ठहर छ ।

संस्थापन समूहले दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेपछिको विकसित परिस्थितिमाथि छलफल गर्न बिहीबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीको एकतर्फी कदमले निकास सम्भव नरहेको निष्कर्ष निकालेको हो । सबै नेताहरूको सुझाबपछि नेपालले सबैको इच्छा पार्टी एकता नै भएकाले सहमतिमा जोड गर्नुपर्ने निष्कर्ष सुनाएको स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले बताए ।

‘एकताको सम्भावना सकियो भन्ने होइन, सबैले सहमतिमै जोड गरेर पार्टी एकता जोगाउने हो । सबैले त्यसैमा जोड गर्नुहोस् भन्ने निष्कर्ष माधव कमरेडले सुनाउनु भयो,’ भुसालले भने, ‘हाम्रो पहिलो इच्छा नै पार्टी एकता हो र त्यसमै लाग्ने हो । अर्को पार्टी बनाउनुपर्ने स्थिति आयो भने त त्यो अन्तिम बाध्यताका रूपमा आउने हो । अर्को समूहले बाध्य बनायो भने मात्र नयाँ पार्टी बन्ने हो भनेर पछिल्लो धारणा निष्कर्षकै रूपमा राख्नुभयो ।’

संस्थापन समूहले महाधिवेशन आयोजक कमिटी भंग गरी शुक्रबार केन्द्रीय कमिटी बैठक डाकेको पृष्ठभूमिमा नेपालको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल समूहको बैठकले पार्टीलाई सम्पूर्ण रूपले २ जेठमा नफर्काएसम्म अवैधानिक आयोजक कमिटीबाट निर्णय गरिएका कारण केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको छ ।

कार्यदल तहमा भइरहेको अनौपचारिक छलफलमा सहमतिको सम्भावना देखिएको र थप गृहकार्य आवश्यक रहेको वार्तामा सक्रिय नेताहरूको ब्रिफिङ राखेपछि शुक्रबार डाकिएको केन्द्रीय कमिटी बैठक केही दिन पर सार्न आग्रह गर्ने समझदारी पनि बनेको छ । वार्तामा सहभागी हुँदै आएका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतले संस्थापन समूहबाट छलफलमा सहभागी नेताहरू विष्णु पौडेल र शंकर पोखरेलमार्फत बैठक सार्न प्रस्ताव गरेका छन् । महाधिवेशन आयोजक कमिटी भंग भएपछि दुवै समूहका नेताहरूले बिहीबार साँझसम्म तीन पटक छलफल गरेका छन् ।

बैठकमा संस्थापनसँग छलफलमा रहेका नेताहरूले समझदारी भएभन्दा फरक तरिकाले महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाएकाले पनि शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नहुने धारणा राखेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७