सशस्त्रका अधिकांश एसएसपी बढुवाको रिङ बाहिर, तीन डीआईजी रिक्त भए पनि दुई जना मात्र योग्य


१८ असार २०७८, शुक्रबार
APF Headquater

काठमाडौं, १८ असार । सशस्त्र प्रहरी बलमा हाल तीन जना नायब महानिरीक्षक (डीआईजी) पद रिक्त भए पनि दुई जनाको मात्र बढुवा हुने भएको छ । डीआईजीका लागि आवश्यक तालिम दुई जनाबाहेक कोही पनि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नगरेकाले यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा डीआईजी हुन सुरक्षा व्यवस्थापन तालिम वा उच्चस्तरीय व्यवस्थापन तालिम वा स्टाफ कलेज वा ब्रिगेडियर तालिम वा नेसनल डिफेन्स कोर्स गरेकै हुनुपर्छ । २१ दिने यो तालिम एसएसपी कालीदास धौबजी र कुमार न्यौपानेले मात्रै गरेका छन् ।

नेपाल प्रहरीमा २६ वर्षअघि प्राविधिक नायब निरीक्षक (सई) मा प्रवेश गरेका उनीहरूलाई नै डीआईजी बनाउनुको विकल्प बढुवा समितिसँग पनि छैन । उनीहरू डीआईजीमा बढुवा हुँदा नेपालको सुरक्षा संगठनको इतिहासमै प्राविधिक सई यति माथिल्लो निकायमा पुगेको पहिलो घटना समेत बन्ने छ । सशस्त्र मुख्यालयले बुधबार डीआईजीको बढुवा प्रक्रिया अगाडि बढाएको थियो । मानव स्रोत विभागमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेल आएलगत्तै बढुवा प्रक्रिया सुरु भएको हो ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि बुझाउन दिइएको तीन दिने समयसीमा आज शुक्रबार सकिने भएकाले सम्भवतः आजै उनीहरूलाई डीआईजी सिफारिस गरिने छ ।

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । जसमा गृहसचिव अध्यक्ष, सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य र सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सदस्य सचिव रहने उल्लेख छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७