म्यानमारमा एकै दिन दुई हजार तीन सय राजनीतिक बन्दी रिहा


१८ असार २०७८, शुक्रबार
d47740d3242d70c7960016c8a62793ce w1000 h500 cp

काठमाडौं, १८ असार । म्यानमारको सैनिक सरकारले दुई हजार ३ सय बन्दीलाई रिहा गरेको छ । सेनाले सत्ता कब्जा गरेको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेर कारागारमा राखिएकामध्ये दुई हजार तीन सय बन्दीलाई बुधबार रिहा गरिएको हो ।

रिहा हुनेमा केही पत्रकार पनि छन् । देशको खस्कँदो अवस्थाबाट मानिसको ध्यान अन्यत्र स्थानान्तरण गर्न उनीहरुलाई रिहा गरेको अनुमान कतिपयले गरेका छन् । राजबन्दीहरुको अधिकारसम्वन्धी एउटा समूहका अनुसार देशभरीबाट पाँच हजार २१० जनालाई कारागारमुक्त गर्ने अपेक्षा गरिएको थियो ।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि त्यसको विरुद्धमा आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा सयौंको मृत्यु भएको छ भने अरु हजारौं घाइते र बन्दी भएका छन् । आन्दोलन अहिले पनि जारी छ । सेनाले सत्ता कब्जामा लिएर चर्चित प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलगायत केही शीर्षस्थ नेतालाई नियन्त्रणमा लिएकाले पनि आन्दोलन बढी चर्किएको हो । सेनाले नियन्त्रणमा लिएका नेतालाई भ्रष्टाचारलगायतका विभिन्न मुद्दा लगाएको छ ।

उनीहरुलाई राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको भन्दै मुद्दा फिर्ता लिन र तत्काल रिहा गर्न आन्दोलनकारीले माग गर्दै आएका छन् । सेनाको कदमको विश्वभरबाट विरोध भइरहेको छ । कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायले म्यानमारसँगको सहकार्य र सहयोग बन्द गरेका छन् ।

गत बर्ष भएको निर्वाचनमा सुकीको पार्टीले धेरै ठाँउँमा जीत हासिल गरेपछि सेनाले निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउदै आएको थियो । निर्वाचनमा धाँधली भएको र निष्पक्ष तथा स्वतन्त्ररूपमा नभएकोले फेरि निर्वाचन गर्न पर्ने सेनाले जनाएको छ । सेनाको मागलाई पर्यवेक्षक र निर्वाचन आयोग समेतले अस्वीकार गरेपछि नव गठित संसद्को पहिलो बैठक तोकिएकै दिन सेनाले नेतालाई नियन्त्रणमा लिएर शासन हातमा लिएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७