सप्तकोशीमा पानीको बहाव बढेपछि २४ वटा ढोका खोलियो, सतर्क रहन आग्रह


१८ असार २०७८, शुक्रबार
Saptakoshi river waterlevel 1

सप्तरी, १८ असार । लगातारको भारी वर्षाका कारण सप्तकोशी नदीमा जलसतह दिनहुँ बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढेको हो ।

सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शुक्रबार साँझको मापनअनुसार कोशी ब्यारेज भएर एक लाख ५५ हजार ९७५ क्यूसेक पानी बगिरहेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार एक लाख ५५ हजार ९७५ क्यूसेक प्रतिसेकेण्ड वहाव मापन हुँदा ब्यारेजका ५६ मध्ये २४ वटा ढोका खोलिएका छन् । कोशीको पछिल्लो मापन अनुसार नदीको बहावमा निरन्तर वृद्धि भइरहेको छ ।

सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहे पनि अहिलेसम्म तटीय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको जनाएको छ । प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाव जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७