उदयपुरको तपेश्वरी क्षेत्रमा ५०० घर डुबानमा


१९ असार २०७८, शनिबार
duban
फाइल फोटो

उदयपुर, १९ असार । गए रातिदेखि आएको निरन्तर वर्षाका कारण बेलका नगरपालिकास्थित तपेश्वरी, आम्बासी र भागलपुर क्षेत्रमा स्थानीय खोलामा आएको निरन्तर बाढी गाउँघरमा पसेपछि तपेश्वरी क्षेत्रका ५०० भन्दा बढी घर डुबान परेका छन् ।

तपेश्वरीका गाउँघरमा बाढी पसेर डुबान हुन थालेपछि बिहानैदेखि सुरक्षाकर्मी सो स्थानमा बाढीपीडिको उद्धार गर्न तयारी हालतमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बेलका–२, तपेश्वरीका राजकुमार भुजेलका अनुसार बाढी गाउँघरमा प्रवेश गरेको कारण सडक, खेत जग्गा र गाउँघर विस्तारै डबान हुन थालेको हो ।

गए रातिदेखि आम्बासी तपेश्वरीको बगाहा, आम्बासीका खहरेखोलामा निरन्तर आएको बाढी गाउँमा प्रवेश गरेपछि तीन फिटसम्म डुबान हुन थालेको तपेश्वरीका जसबहादुर श्रेष्ठले बताए । बेलकाका आम्बासी, तपेश्वरी र भागपुर क्षेत्रमा स्थानीय खोलामा निरन्तर वर्षाका कारण आएको बाढीले डुबान सुरु गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलका रामपुरले गाउँलेलाई सतर्क रहन सचेत गराएको र सुरक्षाकर्मी सहयोगका लागि आज बिहानदेखि तयारी हालतमा रहेको इप्रका रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताए । वर्षाका कारण बेलकाको गिदेरीखोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ भने सो पुल संरक्षण र मर्मतका लागि पहल सुरु गरिएको इप्रका बेलकाले जनाएको छ ।

त्रियुगा नगरपालिका–११, गाईघाटस्थित बरुवाखोलामा भीषण बाढी आएका कारण बरुवाखोलाको कच्ची बाँध भत्कन सक्ने र गाईघाट बजार समेत डुबानमा पर्ने खतरा बढेको त्रियुगा नगरपालिका–११, ढिम्कीका शिव कार्कीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७