कहिले बनिसक्छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ?


१९ असार २०७८, शनिबार
pokhara airport

पोखरा, १९ असार । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य निरन्तर जारी छ । विमानस्थलको निर्माणकार्य अबको ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यही महिनाभित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो ।

गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्ष समेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालू आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले गति लिन भने सकिरहेको थिएन । मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको थियो । विदेशबाट आउने जनशक्तिहरू जुलाई/अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको हुँदा काम निरन्तर भइरहने इन्जिनियर कृष्ण पौडेलले बताए ।

कोभिडको निषेधाज्ञामा पनि काम नरोकि निरन्तर भएको उनले बताए । ५०० जनशक्तिको ठाउँमा कोभिड निषेधाज्ञा २०० हाराहारीमा जनशक्तिले काम गरिरहेको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । कोभिडको कारण चिनियाँ जनशक्तिमा समेत कमी आएको छ । हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा आवद्ध रहेका छन् । चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको छ ।
अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरु भइरहेको छ । निषेधाज्ञाका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने उनले बताए । कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ ।

विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यस अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिना अघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल विमानस्थल निर्माणले अपेक्षित सकेको गति लिन सकेको छैन । निर्माण सम्पन्न मिति समेत २०२१ डिसेम्बरका लागि सारिएको इन्जिनियर पौडेलले बताए ।

विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागी र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्यार मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७