मध्यराति मुङग्रोले हानेर ओछ्यानमै श्रीमतीको हत्या


१९ असार २०७८, शनिबार
hatyaphoto 20210703094651 1

विराटनगर, १९ असार । मोरङको बेलबारी नगरपालिका–७ बाहुनीमा एक पुरुषले ओछ्यानमा काठको मुङ्ग्रोले हानेर शनिबार बिहान श्रीमतीको हत्या गरेका छन् ।

५४ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया सीता घिमिरेको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार बिहान ५ बजेतिर घरभित्र ओछ्यानमा महिला मृत भेटिएको खवर आउनसाथ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

खनाल नेतृत्वको टोलीले देब्रे कञ्चट फुटेर सिरानी तथा ब्ल्याङ्केटमा रगत लागेको र घोप्टो परेको अवस्थामा शव फेला पारेको हो । सिरानीले छोपेको अवस्थामा कपालसमेत लागेको मुङ्ग्रो पनि फेला परेपछि घटनालाई शंकास्पद मानेर प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी घरमा पुग्दा श्रीमतीसँग एउटै ओछ्यानमा सुतेका अम्बिका भने थिएनन् ।

प्रारम्भिक अनुसन्धानबाट बिहानका राति साढे दुई बजेतिर काठको मुङ्ग्रोले हानेर एउटै ओछ्यानमा सुतेकी श्रीमतीको हत्या गरेर फरार बनेको डीएसपी मुकारुङले जानकारी दिएका छन् । अम्बिकालाई लुकिछिपी बसेको अवस्थामा गाउँबाटै पक्राउ गरेको छ । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

खोटाङ घर भएको घिमिरे परिवार छ वर्षअघि मात्रै बसाइँ सरेर बाहुनी आएको वडाध्यक्ष चेतराज बस्नेतले जानकारी दिए । उनका अनुसार भारतको आसाम पुगेर फर्किएको भन्दै परिवारबाट सम्पर्कविहीन बनेको निक्कै लामो समयपछि अम्बिका आएका थिए । लामो समयपछि अम्बिका दुई वर्षअघि मात्रै परिवारको सम्पर्कमा आएरसँगै बस्न थालेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७