१४ अर्ब ३४ करोड बराबरको आईपीओ बिक्रीका लागि अनुमति


१९ असार २०७८, शनिबार
IPO

काठमाडौं, १९ असार । काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कुल १८ कम्पनीलाई साधारण सेयर (आईपीओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणानुसार पछिल्लो पटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।

बोर्डले दिएको अनुमतिका आधारमा हेर्दा कुल १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० रुपैयाँ बराबरको साधारण सेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कुल १७ लाखको हाराहारीमा रहेको हितग्राही खाताको संख्या शतप्रतिशतले वृद्धि भई ३५ लाख नाघेको अवस्था छ ।

यस्तै, सात लाखको हाराहारीमा रहेको मेरोसेयर खाताको संख्या समेत एक वर्षको अवधिमा साढे तीन गुणा बढीले वृद्धि भई २६ लाख पुगेको छ । यस्तै, प्राथमिक सार्वजनिक निष्कासनमा मुस्किलले पाँच लाख जनाले भाग लिने गरेकामा पछिल्लो पटकसम्म आइपुग्दा त २१ लाखले आवेदन दिएका छन् ।

पछिल्लो पटक सार्वजनिक निष्कासन गरेको जीवन विकास लघुवित्तको साधारण सेयरमा २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका छन् । यसअघि, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयरमा १८ लाख ४२ हजार ४८० ले आवेदन दिएको विवरण थियो । जीवन विकास लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार साधारण सेयरमा लगानी गर्नेको रेकर्ड नै बनेको छ ।

धितोपत्र बजार अनलाइन कारोबारका लागि २०७७ असारमा मात्रै ३५ हजारले युजरआईडी लिएकामा हालसम्म त्यो संख्या बढेर ६ लाख ६० हजार बढी पुगेको छ । दैनिक ६ लाख बढीले कारोबारमा सक्रियता देखाएका छन् । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार प्रविधिमा भएको विस्तार तथा लगानी सहजीकरणका लागि भएका प्रयासका कारण धितोपत्र बजारमा लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बोर्डका अनुसार चालु आवको १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत ७८ अर्ब रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ । जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो । प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको सानो बचत संकलन गरी दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पु¥याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको छ ।

बोर्डका अनुसार चालु आवको सुरुवातमा नै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता साधारण सेयर बिक्री ग¥यो । यस्तै, समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आठ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो ।

बोर्डबाट अनुमति पाउनेमा पाँच जलविद्युत् कम्पनी छन् । त्यसमा सिंगटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो । उक्त परिमाणको सेयर आयोजना प्रभावित स्थानीयवासी र आम सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

ग्रिन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर बिक्री ग¥यो । बोर्डले अनुमति दिएको जलविद्युत् कम्पनीमध्ये प्रिमियम समेत जोडेर साधारण सेयर बिक्री गर्नेमा रुरु जलविद्युत् परियोजना हो । सो कम्पनीले आठ करोड १५ लाख ४१ हजार १०० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण सेयर बिक्री ग¥यो ।

सीईडीबी हाइड्रोपावर कम्पनीले पनि साधारण सेयर बिक्री गरिसकेको छ । यस्तै, तेह्रथुम पावरले साधारण सेयर बिक्रीका लागि अनुमति पाइसकेको छ । सो कम्पनीले १२ लाख कित्ता साधारण सेयर बिक्री गर्दैछ ।

साधारण सेयर बिक्री गर्ने कम्पनीमध्ये नेपाल पूर्वाधार बैंक ठूलो हो । सो बैंकले आठ अर्ब रुपैयाँ बराबरको साधारण सेयर चालु आवमा बिक्री गरेको हो । यस्तै, जलविद्युत् कम्पनीमध्ये मध्यभोटेकोसीले साधारण सेयर बिक्रीको अनुमति पाएको छ । सो कम्पनीले एक अर्ब ५० करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्दै छ ।

बोर्डका अध्यक्ष ढुंगानाका अनुसार बजारको बढ्दो स्वरुपका अनुसार सरकारको राजस्वमा समेत पुँजी बजार भरपर्दो स्रोतका रूपमा स्थापित भएको छ । गत वर्षसम्म पुँजीगत लाभकर बापत सरकारलाई वर्षमा मुस्किलले एक अर्ब रुपैयाँ बराबरको योगदान पु¥याउने गरेकामा हाल महिनामै सोभन्दा बढी रकम संकलन हुन थालेको छ । लामो समयदेखि स्पष्ट नभएको पुँजीगत लाभकरसम्बन्धी व्यवस्थामा सुधार भएका कारण पनि बजार विस्तारित भएको बोर्डको बुझाइ छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७