निर्माण सकिनै लागेको ११ करोड २६ लाखको पक्की पुल बाढीले बगायो


१९ असार २०७८, शनिबार
pul triyuga

उदयपुर, १९ असार । उदयपुरको चौदण्डी–५ को सिवाई र बेलही गाउँलाई जोड्न त्रियुगा नदीको निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब भासिएको हो ।

१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको सिवाई खण्डको दुई वटा स्लाब बाढीले बगाएको स्थानीय भाष्कर चौधरीले बताए । ११ करोड २६ लाख लागतमा २ वर्षमा सम्पन्न गर्ने गरी आर्थिक वर्ष ०६७/०६८ मा निर्माण शुरु भएको पक्की पुल हाल सम्म पनि सञ्ञ्चालनमा आउन सकेको छैन  । पटक पटक म्याद थप्दासमेत पुल निर्माण कार्य अझै अधुरै रहेको थियो ।  

११ वर्षअघि निर्माण शुरु गरिएको पुल सञ्चालनमा नआई भत्किदा उदयपुरको व्यापारिक केन्द्र बेल्टार बजार र आसपासका बासिन्दाहरु चिन्तित बनेका छन् । पुल निर्माणको ठेक्का महालक्ष्मी लोकप्रिय जेभीले लिएको छ । सम्झौताअनुसार ०७०÷७१ मै पुल निर्माण सकिनुपर्ने थियो ।

पुल निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाले निर्माण कार्य ८३ प्रतिशत पूरा भएको मूल्यांकन गरि भुक्तानि समेत गरेको योजना प्रमुख गोपाल खकुरेलले बताए  । विभिन्न कारण देखाउदै निर्माण कम्पनिले पुल निर्माणमा ढिलाई गरेको र सो वापतको जरिमाना समेत आयोजनालाई तिरेर काम गरि रहेको योजना प्रमुख खकुरेलको भनाइ छ । निर्माणाधीन अवस्थामा नै पुल भाचिएकाले अव निर्माण कम्पनिलेनै बनाउनु पर्ने समेत योजना प्रमुख खकुरेलले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७