१३ औं सागका ‘स्वर्णधारी’ नवीन र पार्वती वर्ष खेलाडी घोषित


१९ असार २०७८, शनिबार
barsha kheladi pokhara bU1uVMd0qw

पोखरा, १९ असार । कराँतेका नवीन रसाइली र तेक्वान्दोकी पार्वती गुरुङ पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६–२०७७ को वर्ष बनेका छन् ।
अवार्डसँगै उनीहरुले जनही २ लाख रुपैयाँ नगद पनि प्राप्त गरेका छन् । विजेतालाई गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुरस्कार दिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अवार्डको आयोजक हो । सो अवसरमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो ।

पोखराको फुटबल विकासमा दिएको योगदानको कदर गर्दै उनलाई सो अवार्ड दिइएको हो । कोरोना महामारीबीच पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा वर्ष उत्कृष्ट खेलाडी बन्न सफल नवीन रसाइली नेपाल प्रहरीमा कार्यरत छन् ।

२३ वर्षीय रसाइली १३ औं सागका स्वर्णधारी हुन् । सो विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल थिए । यस्तै वर्ष उत्कृष्ट महिला विधामा उपाधि विजेता पार्वती गुरुङको जन्म लमजुङमा भएको हो । २६ वर्षीया पार्वतीले १३ औं सागमा एक स्वर्ण र एक काँस्य पदक जितेकी थिइन् । सो विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री प्रतिष्पर्धामा थिए ।

१४ वर्षीया दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित भइन् । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री समेत थिए । साथै वर्ष उत्कृष्ट प्रशिक्षक सुरेश मल्ल ठकुरी (बक्सिङ) घोषित भए । उनी २२ वर्षदेखि निरन्तर प्रशिक्षणमा छन् । प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ थिए ।

उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो । मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ (वर्ष २०७६) र पोखरा स्पोर्टस् डटकमका केशव पाठक (वर्ष २०७७) सम्मानित भए। उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो । यस्तै वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो । मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सो समारोह सम्पन्न भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७