सर्वोच्चको फैसला आएको भोलिपल्टै असाधारण निर्णय लिन्छौं, तयार रहनुस् : प्रधानमन्त्री


१९ असार २०७८, शनिबार
kp oli

काठमाडौं, १९ असार । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलनमा जान पर्ने हुनाले पार्टीपंत्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

आज (शनिबार) बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले र एमाले नेतृत्वको सरकारविरुद्ध षड्यन्त्र भइरहेको र त्यसका लागि आन्दोलनको आवश्यक देखिंदै गएको उनले बताए ।

‘एमाले र एमाले सरकारविरुद्ध षड्यन्त्रपूर्ण ढंगले गतिविधि भइरहेका छन् । हाम्रै पार्टीका साथीहरु पनि एमालेलाई सिध्याउन लागिपर्नु भएको छ,’ ओलीले भने, ‘यो षडयन्त्रलाई चिर्नका लागि हामीले आन्दोलनका मैदानमा पनि जान पर्ने अवस्था आउन सक्छ ।’

आफूलाई त्यस्तो परिस्थित बन्दै गएको आभाष भइरहेको बताउँदै उनले सिङ्गो पार्टीपंत्तिलाई तयारी अवस्था राख्नुपर्ने जिकिर गरे । पार्टीको विभिन्न मोर्चामा रहेका नेताहरुलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन ओलीले निर्देशन समेत दिए ।

उनले सारा पक्ष आफ्नाविरुद्धमा मोर्चाबन्दी बनाएर लडिरहेका बेला आफूहरु चुप लागेर बस्न नसक्ने चेतावनी समेत दिए । उनले सर्वोच्चको फैसला आएको भोलिपल्ट ११ बजे केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराए । तर, प्रधानमन्त्री ओलीले त्यो असाधरण निर्णय के हो भन्नेबारेमा भने खुलाएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७