संसद विघटनको मुद्दा : आज यी वकिलले सभामुख र सांसदका तर्फबाट बहस गर्दै


२० असार २०७८, आईतवार
sarbochha

काठमाडौं, २० असार । संसद विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी परेका रिटमा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस हुँदैछ । यस बहस सकिएपछि जवाफी बहस शुरु हुनेछ ।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ । ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस शुरु हुने जनाइएको छ ।

निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो । यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए ।

गत असार ९ गतेबाट बहस शुरु भएको हो । शुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । जवाफी बहस आजै सकिने सम्भावना कम छ । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् । उनीहरूको बहस सकिएपछि सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेसँगै यो मुद्दाको फैसला आउनेछ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पेस गरेको दाबी खारेज गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते मध्यराति संसदै विघटन गरेपछि सर्वाेच्च अदालतमा ३० वटा रिट निवेदन परेका छन् ।

जसमध्ये देउवा समेत १४६ सांसदको हस्ताक्षरमा हालिएको निवेदनमा संसद् पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गरिएको छ । जुन मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा भइरहेको छ । देउवाको रिट निवेदनको फैसला गरेपछि मात्रै अन्यबारे निर्णय गर्ने सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७