लगातारको वर्षाले रौतहट र पर्सा जलमग्न


२० असार २०७८, आईतवार
badi copy

रौतहट, २० असार । लगातारको वर्षाका कारण रौतहटका अधिकांश भूभाग जलमग्न भएको छ । लगातारको बर्षाको कारण गौर, चन्द्रपुरलगायत १८ वटै स्थानीय तहका अधिकांश भाग डुवानमा परेको हो ।

प्राचीनकालीन कुलो मासिएको कारण बस्ती डुबानमा परेको हो । डुवानमा परेका घरका परिबारको अन्न, लताकपडा, सबै भिजेको छ भने चौपाया बस्तुको समेत बिजोग भएको छ ।

चन्द्रपुर नगरपालिका–४ र ५ मा रहेको मुस्लिम बस्ती पुरै डुवानमा परेको छ । पानीको निकास बन्द हुँदा चन्द्रपुर नगरपालिकाको मुख्य सडकबाट नै नदिझै पानी बगेको छ । रौतहट जिल्लामा दुई सय बढी घर डुवानमा परेका छन् । सडक क्षेत्रको नालीको सरसफाइ नगरिँदा बर्षा हुँदा बस्ती नै डुवानमा पर्दै आएको छ ।

यस्तै पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन । बीरगन्ज महानगरपालिकाका अधिकांस क्षेत्र डुवानमा परेको छ । श्रीसिया खोलाको पानी बीरगन्जमा प्रवेश गरेपछि राधामाई टोल, मुर्ली आदर्शनगर छपकैयामा लाखौको क्षति भएको छ ।

वीरगन्ज महानगरपालिका १० आदर्शनगर क्षेत्रमा मुख्य सडक नै डुबानमा परेको छ । निजी बैंक तथा वित्तीय संस्था, थुप्रै व्यावसायिक घरानाका कार्यालय डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पोखरिया ४ मा एक कच्ची घर ढलेको छ ।

पकाहामैनपुर गाउँपालिका–४ मा रहेको खेस्राहा प्रहरी चौकीमा पानी पसेपछि चौकीलाई हरिहर निमाविमा सारिएको छ । वीरगन्ज २० उदयपुर घुर्मीमा १६ घर, जिराभवानी गाउँपालिका–१ बलुवा टोलमा ४ घर, जगरनाथपुर गाउँपालिका ५ दशौतामा ४० घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पश्चिमी पर्साको ठोरी गाउँपालिकाको ब्रह्मनगर, नयाँ बस्ती, निर्मल बस्ती, मिलन चोक, आठघरे, विजय बस्ती, शान्ति टोल, विशाल चोक, सुन्दर टोल, टयांग्र्रेलाइनलगायत बस्ती डुबानमा परेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । यसैगरी हालै निर्माण भएको हुलाकी सडकभन्दा होचो स्थानमा रहेका उत्तरतर्फका अधिकांश बस्ती डुबानमा परेको भए पनि कुनै मानवीय क्षति नभएको प्रहरी निरीक्षक ब्रह्मदेव साहले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७