प्रतिनिधिसभा विघटनको मुद्दा : सभामुखका वकिलको बहस शुरु, दुई घण्टा समय


२० असार २०७८, आईतवार
ijalas WeXxlWpa2m VQgaBCsqgA 1

काठमाडौं, २० असार । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस शुरु गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुख सापकोटाका कानुन व्यवसायीले बहस शुरु गरेका हुन् ।

सभामुखको पक्षलाई दुई घण्टा समय छुट्ट्याइएको छ । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लवकुमार मैनाली, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । सभामुखका कानुन व्यवसायीको बहसपछि विपक्षी गठबन्धनका १४६ सांसदले दायर गरेको रिटकातर्फबाट जवाफी बहस शुरु हुनेछ ।

त्यसपछि मात्रै एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, प्रकाशबहादुर केसी, राघवलाल वैद्य र उषा मल्ल पाठकले आफ्नो राय दिने छन् । उनीहरूका लागि ३०–३० मिनेट गरी २ घण्टा समय छुट्ट्याइएको छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानुन व्यवसायीको बहस बिहीबार सकिएको थियो । सरकारी पक्षबाट गत सोमबारबाट बहस शुरु भएको थियो । महान्यायाधिवक्ता रमेश बडालले सोही दिन सरकारी पक्षको बहस शुरु गरेका थिए ।

बहसका लागि सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सात सात घण्टा बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । प्रधानमन्त्रीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले संवैधानिक अधिकार प्रयोग गरेर प्रतिनिधिसभाको विघटन गरिएको तर्क गरेका थिए ।

गत आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । निवेदक पक्षका कानुन व्यवसायीले बहुमत सांसद विघटन विपक्षमा रहेको जिकिर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।

उक्त विवादमा ३० रिट निवेदन परेका थिए । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग निवेदनमा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७