ओलीको एकतर्फी निर्णय दुर्भाग्यपूर्ण छ, तत्काल खारेज गर्नुपर्छ : योगेश भट्टराई

‘अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गरिदिन्छ’


२० असार २०७८, आईतवार
yogesh bhattrai
फाइल फोटो

ताप्लेजुङ, २० असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार गरेका एक पक्षीय निर्णय दुभाग्यपूर्ण रहेको बताउँदै तत्काल खारेज गर्नुपर्ने बताएका छन् । गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराईले आज (आइतबार) पत्रकारहरूसँग भने, ‘यो दुर्भाग्यपूर्ण निर्णयले देशभरका कार्यकर्तालाई निराश बनाएको छ,’ भट्टराईले थपे, ‘फेरि एक पटक एक पक्षीय यी निर्णयहरु खारेज गर्नुपर्छ र फेरि सहमतिमा फर्कनु पर्छ ।’

पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर बनाएको कार्यदललाई सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ । त्यो कार्यदलले २०७५ जेठ ३ अघिका कमिटीलाई सक्रिय बनाउने र भविष्यमा पार्टी कसरी अगाडी बढाउने सुनिश्चित गर्नुपर्ने उनको तर्क छ ।

भट्टराईले प्रतिनिधिसभा दोस्रो पटक पनि पुनःस्थापना हुने दाबी गरेका छन् । उनले भने, ‘हामीलाई पहिलो पटक जनताले भोट दिएर सांसद बनाए, दोस्रो पटक अदालतले सांसद बनायो र अब तेस्रो पटक पनि अदालतले बनाउँदै छ ।’ विगतको फैसलाको नजिर र प्रधानमन्त्रीले प्रक्रिया मिचेर गरेको विघटनका कारण सांसद पुनः स्थापना हुने भट्टराईको दाबी छ ।

भट्टराईले भने, ‘एउटै देशमा एउटै कार्यकालमा दुई÷दुई पटक संसद् विघटन सायद यो वर्ल्ड रेकर्ड नै हुन्छ होला ।’ उनले पाँच वर्षको एउटा प्रतिनिधिसभा दुई–दुई पटक पुनःस्थापना भएर अर्को पनि वर्ल्ड रेकर्ड हुने सम्भावना रहेको बताए । प्रतिनिधिसभा विघटनलाई आफूले अनौठो चाहीं नठानेको भट्टराईले बताएका छनु ।

‘अहिले नभएको भए १०/१५ वर्षपछि भएपनि कुनै न कुनै शासकले गर्थे,’ भट्टराईले थपे, ‘अहिले नै भयो अब अदालतले यसको व्याख्या गरिदिन्छ र संविधान र मुलुक आफ्नो ट्रयाकमा चल्छ ।’ सर्वोच्चको अबको फैसलापछि कुनैपनि प्रधानमन्त्रीले आफूले चाहदैमा प्रतिनिधि सभा विघटन गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७