सरकारले बाढी–पहिरोबाट घर गुमाएका ५७२ परिवारलाई ५० हजारका दरले राहत दिने

गृहमन्त्रीले भने, ‘राहत वितरणमा सेलिब्रेटी स्टाइल देखियो’


२० असार २०७८, आईतवार
Melamchi flood 8

काठमाडौं, २० असार । सरकारले बाढी–पहिरोका कारण घर गुमाएका ५७२ परिवारलाई ५० हजार रुपैंयाँका दरले राहत प्रदान गर्ने भएको छ ।
आज (आइतबार) राष्ट्रियसभा वैठकमा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यो वर्षको मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम उपलब्ध गराइने जानकारी गराए ।

उनले यो वर्षको असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले दुई करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् । गृहमन्त्री पौडेलले यो वर्ष मनसुनबाट सिर्जना भएको प्राकृतिक विपत्तिबाट ५६५ घर पूर्ण क्षति भएको, ११२ घरमा सामान्य क्षति पुगेको जानकारी दिएका छन् । उनले क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने उल्लेख गरे ।

उनले भने, ‘हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५६५ घर पूर्ण रुपमा क्षति भएको छ । ११२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।’

यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुँमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा पक्की पुलमा क्षति पुगेको छ । यस्तै विभिन्न जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । ति पुलहरूको निर्माण तथा सडक खुलाउनका लागि सम्वन्धित निकायलाई निर्देशन समेत दिएको उनले बताए ।

सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।

मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए । मनसुनबाट भएको प्राकृतिक विपत्तिबाट घर गुमाएकाहरुलाई पुनर्निर्माणका लागि व्यवस्था गरिएको मन्त्री पौडेलको भनाइ छ ।

अघिल्लो बर्ष मनसुनबाट क्षति पुगेका ३ हजार ९५० परिवारलाई घर बनाउन पहिलो किस्ता वापत ५० हजार रुपैयाँ दिएको १९ करोड ९७ लाख अनुदान दिइएको उल्लेख गरे । यस्तै बाढी पहिरोमा परेका २७८ जनलाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको मन्त्री पौडेलले जानकारी गराएका छन् ।
‘राहत वितरणमा सेलिब्रेटी स्टाइल देखियो’
गृहमन्त्री विष्णु पौडेलले राहत वितरणमा सेलिब्रेटी स्टाइल देखिएको भन्दै टिप्पणी गरेका छन् । प्राकृतिक विपदमा परेकाहरुको उद्दार तथा राहतबारे जानकारी दिँदै मन्त्री पौडेलले सरकारले स्रोत, साधन र शक्ति परिचालन गरेको बताए । उनले भने, ‘सरकार रमिते भएर होइन, प्रो एक्टिभ भएर परिचालित छ ।’ प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताएका छन् ।

Bishnu Paudel 1

उद्दार, राहत तथा पुनस्थापना जस्तो मानवीय प्रश्नमा राजनीति नगर्ने भन्दै उनले अघि भने, ‘स्वेच्छिक राहतमा यदाकदा सेलिब्रेटी स्टाइल प्रकट भएको छ ।’ यसलाई रोक्न स्वेच्छिक सहयोग गर्न चाहनेहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरेको मन्त्री पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७