रातभरको संघर्षपछि तालिबान समूहले कन्दाहार जिल्ला नियन्त्रणमा लियो


२० असार २०७८, आईतवार
AFGHAN TALIBAN 1 2

काठमाडौं, २० असार । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले रातभरको संघर्ष पश्चात् कन्दहार जिल्लालाई आफ्नो नियन्त्रणमा लिएको छ । अमेरिकी सेनाले यही जुलाई महिनाभित्रै अफगानिस्तान छाड्ने तयारी गरेसँगै तालिबान समूहले अफगानी सरकारी सेनाविरुद्ध आक्रामक कारबाहीलाई तीब्र बनाएको छ ।

कन्दहारलाई तालिबानी समूहले आफ्नो प्रमुख गढको रुपमा लिने गर्दछन् । गत मे महिनादेखि नै अफगानिस्तानका ग्रामीण क्षेत्रहरुलाई तालिबान समूहले आफ्नो नियन्त्रणमा ल्याउने अभियान सफलतापूर्वक सञ्चालन गरिरहेका छन् ।

काबुल नजिकैको बघराम हवाई मैदान अमेरिकी र नेटो सैनिकले खाली गरेको दुई दिनभित्रै कन्दहार प्रान्तको दक्षिणी पन्जवाई जिल्लालाई तालिबानीहरुले नियन्त्रणमा लिएका छन् । बघराम हवाई मैदानबाट अमेरिकी सेनाले तालिबान र अल–कायदाविरुद्ध दुई दशक हवाई आक्रमण गर्ने गरेको थियो ।

विगत केही वर्षदेखि तालिबान र अफगान सैनिकबीच पन्जवाई जिल्लालाई नियन्त्रणमा लिन पटक पटक संघर्ष हुँदै आएको छ । कन्दहार प्रान्तलाई तालिबान समूहले आफ्नो जन्मभूमिका रुपमा लिने गरेको छ । पञ्जवाई जिल्लाका गभर्नर हास्ती मोहम्मदले तालिबान समूह र अफगान सेनाबीच रातभर गोली हानाहान भएको र बिहान अफगान सेनाले जिल्ला छाडेको जानकारी दिए ।

उनले तालिबान समूहले जिल्ला प्रहरी मुख्यालय र गभर्नरको कार्यालयलाई कब्जामा लिएको बताए । कन्दहारका प्रान्तीय परिषदका प्रमुख सईद जान खाक्रीवालले पनि पञ्जवाई जिल्ला तालिवानको नियन्त्रणमा गएको पुष्टि गर्दै सरकारी फौजले जानाजान जिल्ला छाडेको आरोप लगाए । हालैका साताहरुमा अफगानिस्तानका धेरै प्रान्तमा सङ्घर्ष भइरहेका छन् र देशका ४०० मध्ये १०० भन्दा बढी जिल्ला आफ्नो नियन्त्रणमा लिइसकेको तालिवानले दाबी गरेको छ ।

बघराम हवाई मैदान खाली गरेसँगै तालिबान समूहले नयाँ क्षेत्रहरु आफ्नो नियन्त्रणमा लिन थप संघर्ष गर्ने अनुमान गरिएको छ । सरकारी फौजले बघराम हवाई मैदानलाई आतंकवाद विरुद्ध लड्न प्रयोगमा ल्याइने बताएको छ । आफूहरुले विमानस्थलको राडार प्रणालीलाई पुनः सञ्चालनमा ल्याइसकेको सेनाले जनाएको छ ।–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७