वागमती प्रदेशसभा बैठक अनिश्चित


२० असार २०७८, आईतवार
bagmati pradesh

हेटौंडा, २० असार । दलहरुबीच सहमति नजुटेपछि वागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । शनिबार प्रतिपक्षी दलहरुको अवरोधका कारण स्थगित बैठक आइतबारका लागि डाकिएको थियो ।

बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक दलहरुबीच बैठक सञ्चालनबारे सहमति नजुट्दा दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । दिउँसो सभामुख सानुकुमार श्रेष्ठको हेटौंडा–१० स्थित निवासमा बसेको सर्वदलीय बैठक बसे पनि सदन सञ्चालनको विषयमा ठोस सहमति भएको छैन । जसको कारणले गर्दा बैठक अनिश्चित भएको छ ।

प्रमुख प्रतिपक्षी दलहरुको अवरोध र सत्ता पक्षकै माधवकुमार नेपाल समूहले बजेट फेल गराउने चेतावनी दिइरहेको अवस्थामा सत्तापक्षले दलहरुबीच सहमतिको कोसिस गरिरहेको छ । स्रोतका अनुसार पहिला आफ्नै पार्टीभित्र सहमति जुटाउने र विपक्षी दललाई सहमतिमा ल्याउन सत्तारुढ दल नेकपा एमाले लागिपरेको छ ।

माधव नेपाल समूह अझै पनि बजेटलाई पास गराउन पूर्ण सहमत नभइसकेको जनाइएको छ । सहमतिका लागि समय लिनका लागि बजेट अधिवेशनमा समेत विभिन्न विधेयकहरुमाथि छलफल चलाइएको छ । यसलाई लिएर सांसदहरुले संसदमै प्रश्न उठाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७