फिलिपिन्स सैनिक विमान दुर्घटना : मृत्यु हुनेको संख्या ४५ पुग्यो, १७ जना बेपत्ता


२१ असार २०७८, सोमबार
philpinnesplaneaccident jgNsBdDqOP

काठमाडौं, २१ असार । फिलिपिन्समा आइतबार सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ । देशको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो टापुस्थित विमान दुर्घटना भएको हो ।

दुर्घटनामा केही दर्जन यात्रु घाइते छन् । हालै तालिम प्राप्त सैनिक फौजसहित झण्डै १०० जना यात्रु बोकेको सी–१३० हर्कुलस ट्रान्सपोर्ट विमान विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुने अधिकांश नयाँ तालिम प्राप्त सिपाही छन् ।

मेजर जनरल विलियम गोन्जालेजका अनुसार यात्रुमध्ये केही सिपाहीहरु विमान दुर्घटना हुँदै गर्दा पड्किनुअघि जमिनमा हामफाल्दै गरेका देखिएका थिए । यस घटनालाई देशकै सबैभन्दा घातक सैन्य उड्डयनमध्ये एक ठानिएको छ ।

दुर्घटनामा १७ जना यात्रु अझै वेपत्ता भएकाले उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ । दुर्घटनाग्रस्त विमानका केही भाग रुखहरुबीच जलिरहेको अवस्थामा देखिन्छ । विमान दुर्घटना भएपछि त्यहाँबाट धुवाँको मुस्लो उडिरहेको दृष्य स्थानीय मिडियाले सार्वजनिक गरेका छन् । चार इन्जिन भएको उक्त विमान पातलो मानव बस्ती भएको क्षेत्र नजिकै खसेको थियो ।

फिलिपिन्सको वायु सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल म्यानर्ड मारिआनोले विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिने बताएका छन् । जवकि सशस्त्र बलका प्रवक्ता मेजर जनरल एडगार्ड एरेभालोले भने यो एक आक्रमण नभएर दुर्घटना नै भएको प्रतिक्रिया दिएका छन् । अधिकांश यात्रुहरु भर्खरै तालिम सम्पन्न गरेका सैनिक थिए । र उनीहरु मुस्लिम वाहुल्य क्षेत्रमा आतंकवादीविरुद्ध दस्ताको रुपमा खटाइएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७