ओली–नेपाल भेट पनि भएन, विज्ञप्ति पनि आएन

एक लाइनकै भए पनि संयुक्त वक्तव्य जारी गराउने दोस्रो तहका नेताको प्रयास असफल


२१ असार २०७८, सोमबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एक लाइनकै भए पनि एकताको सन्देश दिने संयुक्त वक्तव्य जारी गराउने एमालेका दोस्रो तहका नेताहरूको पछिल्लो प्रयास असफल भएको छ ।

दुवैतर्फका दोस्रो तहका नेताले ओली–नेपाल भेट गराएर समझदारी जुटेका विषयमा संयुक्त वक्तव्य जारी गराएर विवाद एकतातिर अगाडि बढेको सन्देश दिने कोसिस गरेका थिए, तर आइतबार बेलुकीसम्म न शीर्ष नेताबीच भेट सम्भव भयो न त संयुक्त विज्ञप्ति नै आउन सक्यो ।

संयुक्त वक्तव्य जारी गराएर गम्भीर मोडमा पुगेको एमाले विवादलाई समाधानको दिशा दिने कोसिस थियो । तर, त्यस्तो संयुक्त वक्तव्य जारी गराएर ओलीले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न सक्ने आशंका गर्दै नेपालले भेट गर्न र विज्ञप्ति निकाल्न अस्वीकार गरे ।
नेपाललाई भेट्न आइतबार बिहान उनकै निवासमा ओलीनिकट नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल गएका थिए । भेटमा नेपालनिकट नेताहरू घनश्याम भुसाल, भीम आचार्य र गोकर्ण विष्ट पनि सहभागी थिए । बिहान प्रयास असफल भए पनि नेताहरूले आइतबार राति अबेरसम्म सहमतिको कोसिस जारी राखेका थिए ।

संसद् विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ भइरहेको छ र यसै साता फैसला आउन सक्ने भनिएको छ । ‘यस्तो वेला नाटकीय रूपमा संयुक्त विज्ञप्ति खोज्नुमा कुनै इमानदारिता छैन, विचाराधीन मुद्दा प्रभावित पार्ने कोसिस मात्रै हो,’ नेपालनिकट एक नेताले भने, ‘ओलीको मनसाय बुझेपछि उहाँ (नेपाल) ले कार्यदल ब्युँताएर औपचारिक सहमति खोज्नु भएको हो ।’

उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीसँग भेट्न अस्वीकार गरेको बताए । ‘म, सुवासजी र शंकरजी माधव कमरेडलाई भेट्न गएका थियौं । तपाईंहरू एक–आपसमा बस्नुहोस् । पार्टी अध्यक्ष र तपाईंको बीचमा मिटिङ होस् भन्ने चाहन्छौँ भनेर प्रस्ताव राख्यौँ । तर, प्रधानमन्त्रीसँग भेट्नका लागि उहाँले अरुचि प्रकट गर्नुभयो । ठीकै छ छलफल गर्दै जाउँ भनेर हामी उठ्यौं’, नेपालसँगको भेटबारे पौडेलले भने ।

दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, भीम आचार्य, गोकर्ण विष्ट र घनश्याम भुसाल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराईलगायतका नेताहरू विवाद समाधानलाई सहमतिको मोड दिन हप्तौँदेखि दैनिक प्रयासमा छन् । तर, पार्टीलाई २ जेठमा फर्काउनेदेखि पछिल्लोपटक प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा भएको हस्ताक्षरसहितका विषयमा उनीहरूले समझदारी जुटाए पनि ओली र नेपाल दुवैले औपचारिक मान्यता दिएका छैनन् ।

जब कि उनीहरूले साबिक एमालेको दुई सय तीन सदस्यीय केन्द्रीय कमिटीको बैठकबाट प्रवेश गरेर २ जेठ ०७५ सम्मको सांगठनिक संरचनासम्बन्धी विवाद समाधान गर्ने र प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतको फैसलालाई नै स्विकारेर जाने गरी दुवै पक्षलाई ‘विनविन’ समाधान हुने गरी विषय टुंग्याएको बताउँदै आएका थिए ।

तिनै विषयमा ओली र नेपालबीच अन्तिम संवाद गराएर मात्र केन्द्रीय कमिटी बैठक राख्ने तयारीलाई दुवै नेताले अस्वीकार गरेका थिए । नेपालले ओलीसँग भेट गर्नै नमानेपछि ओलीले एकतर्फी केन्द्रीय कमिटी बैठक राखेर सोमबार (आज) बेलुकीसम्म देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिन नेपालसहित २३ सांसदलाई अल्टिमेटम दिएका छन् ।

बैठक स्थगित गरेर समाधान खोज्नुपर्ने नेपाल पक्षको पछिल्लो मागमा पछि नहट्ने बरु एमाले केन्द्रीय कमिटीबाट हस्ताक्षरकर्ताले फिर्ता नलिए कारबाही गर्ने योजनासहित ओली अगाडि बढेपछि दोस्रो तहका नेताहरूले आइतबार दुवै नेतालाई भेटेर संयुक्त विज्ञप्तिका लागि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए ।

तर, नेपालले औपचारिक रूपमा कार्यदलबाट मात्र सहमति भएका बुँदा समावेश गरेर वक्तव्यको मस्यौदा ल्याएपछि मात्र त्यसलाई हेरेर ओलीसँग भेटघाट र छलफल गर्न सकिने अडान राखेका छन् । उनले देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता नहुने, तर आउने जुनसुकै फैसलालाई मानेर जान सकिने आफ्नो दृष्टिकोण पनि पौडेलसहितका नेताहरूलाई भेटमा प्रस्ट्याएका छन् ।

‘कार्यदल ब्युँताउने सहमति होस्, तपाईंहरूको अनौपचारिक छलफलमा के–के समझदारी भएको छ, त्यही कुरालाई लिपिबद्ध गरेर ड्राफ्ट लिएर आउनुहोस्, बल्ल त्यसपछि अरू कुरा गरौंला, केपीजीसँग पनि भेट र छलफल हुन सक्छ,’ नेपालले दिएको जवाफ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने ।

ओली र नेपालबीच भेट गराउन र संयुक्त वक्तव्यमा हस्ताक्षर गराउने प्रयास सफल नभए पनि दोस्रो तहका नेताहरूको अनौपचारिक छलफल आइतबार पनि दिनभर जारी रहे । दिनभरका प्रयास असफल भएपछि आइतबार साँझ दुवै पक्षका दोस्रो तहका नेताहरूले संयुक्त ड्राफ्ट तयार पारेको तथा सोमबार अन्तिम रूप दिएर साँझसम्म हस्ताक्षरका लागि प्रयास जारी राख्ने भएका छन् ।

‘दुवै पक्षमा अहंता देखिएको छ । फिटिक्कै हलचल गराउन सकिएको छैन । उहाँहरूले नमाने पनि हामी एकता जोगाउने कोसिस अन्तिमसम्म नै जारी राख्छौँ,’ छलफलमा रहेका एक नेताले भने, ‘आजै हस्ताक्षरका लागि दुवैजना तयार भएपछि विज्ञप्ति बनाएर जाने योजना हाम्रो थियो, तर त्यो सम्भव हुन सकेन । आज सम्भव नभए पनि भोलि साँझसम्म नतिजा निकाल्ने गरी काम अगाडि बढ्छ । हामी अहिले त्यही संयुक्त वक्तव्यको ड्राफ्ट गर्ने काम भइरहेको छ ।’ उनले ओली र नेपालले माने पनि नमाने पनि वक्तव्य लिएरै गएर दुवैजनालाई अनुरोध गर्ने बताए ।

ओलीसँग संवादका लागि निरन्तर अरुचि राख्दै आएका नेपालमाथि उनी पक्षका दोस्रो तहका नेताहरूले निरन्तर दबाब दिँदै आएका छन् । शुक्रबार बिहान केन्द्रीय कमिटीको बैठकअघि निवासमै पुगेर केही नेताले ओलीसँग भेटेर कुरा गर्न र बैठक स्थगितका लागि पहल लिन दबाब दिन खोजेका थिए । तर, नेपाल निवासमै नभेटिएपछि बैठक रोकाउने उनीहरूको प्रयास असफल भएको थियो । नेपालले फोन गरेर आग्रह गरेपछि ओलीले बैठक रोक्ने उनीहरूको बुझाइ थियो ।

भोलिपल्ट शनिबार उपमहासचिव घनश्याम भुसालले नेपाललाई भेटेर प्रधानमन्त्री ओलीसँग आफ्नै मोबाइलबाट संवाद गराएका थिए । तर, त्यो संवादमा पनि ओली–नेपाल टस न मस बने । ओलीले पार्टी एकता जोगाउन सर्वोच्च अदालतमा दायर रिटमा गरिएको हस्ताक्षर पहिले फिर्ता हुनुपर्ने अडान राखेका छन् भने नेपालले ब्याक नहट्ने जवाफ फर्काएका थिए ।

टेलिफोन संवादपछि ओलीले अन्य कुरामा खासै गम्भीर नबनी हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गरेको नेपालनिकट नेताहरूले बताएका थिए । त्यसलाई हस्ताक्षर फिर्ता गराएर अदालतमा सुनुवाइ भइरहेको मुद्दा प्रभावित पार्ने खेल भएको नेपालसहित उनीनिकट नेताहरूको बुझाइ छ ।

अहिले जारी बैठक सर्वोच्च अदालतको फैसलाअनुरूप २ जेठ ०७५ को नभई २८ फागुन ०७७ कै निर्णयको निरन्तरता देखिएकाले र आवश्यक सल्लाह एवं परामर्शविना आयोजना गरेकाले त्यसलाई रोक्न, राजनीतिक र संगठनात्मक कोर्स करेक्सन गर्न एवं पहिले निर्माण गरेको वार्ता कमिटीलाई क्रियाशील बनाई औपचारिक वार्ता आरम्भ गर्न आग्रह गरिए पनि कुनै प्रगति नभएको भन्दै नेपाल असन्तुष्ट छन् । नयाँ पत्रिका दैनिकबाट

नेपालले नमानेपछि ओलीले भेटे रावल
वरिष्ठ नेता माधव नेपालसँग भेट र संयुक्त वक्तव्य सम्भव नभएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नेपाल पक्षका नेता भीम रावलसँग आइतबार राति संवाद गरेका छन् । रावललाई दोस्रो तहका नेताहरूले नेपाललाई भेटेर सम्झाउन उनको निवास कोटेश्वर पठाएका थिए । त्यहीवेला ओलीले खबर पठाएपछि रावल बालुवाटार पुगेका हुन् । ओली र रावलबीच राति अबेरसम्म छलफल भए पनि निष्कर्ष के रह्यो भन्ने खुलेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७