महिलामा पार्टी पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्छ : नेता सिटौला


२१ असार २०७८, सोमबार
Krishna Prasad Sitaula 1
फाइल फोटो

काठमाडौं, २१ असार । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महिलामा कांग्रेसको पदाधिकारीमा प्रतिस्पर्धा गर्ने आँट हुनुपर्ने बताएका छन् ।

लोकतन्त्रका लागि हाम्रो अभियानले आइतबार साँझ यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनः नीति र नेतृत्वमा महिला’ विषयक प्रदेश–१ र २ स्तरीय भर्चुअल अन्तरक्रियामा उनले पार्टी पदाधिकारीमा पुरुषसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता महिलाले राखेमात्र महिला क्षमता विकास हुने बताएका हुन् ।

‘पार्टीभित्र महिलाहरु समावेशी अधिकारका लागि मात्र लडेर हुँदैन, प्रतिस्पर्धामा जानुपर्छ, प्रतिस्पर्धासँगै महिलाको क्षमता विकास हुँदै जान्छ’,, नेता सिटौलाले भने । पार्टीका पूर्व महामन्त्री सिटौलाले पार्टीभित्र चाकडी र चाप्लुसी बढ्दै गएकाले महिलाहरु नेतृत्वमा पुग्न नसकेको उल्लेख गरे ।

उनले संविधानअनुसार महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत अधिकार दिनेबारेमा पार्टीभित्र आफू सकारात्मक रहेको स्पष्ट पारे ।
कांग्रेस पूर्व कोषाध्यक्ष चित्रलेखा यादवले महिलाहरु नेतृत्वमा पुग्न नसकेसम्म महिलाका लागि उचित नीति बन्न नसक्ने बताइन् । ‘पार्टीको नीति निर्माणको ठाउँमा पुरुष हावी हुँदा महिला नेतृत्वलाई अगाडि बढाउन गाह्रो भयो’, उनले भनिन् ।

उनले मुलुकका हरेक आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका निर्वाह गरे पनि नेतृत्व तहमा अहिलेसम्म पुग्न नसकेको बताइन् । संविधानको मर्म र भावनाअनुसार पार्टीले महिला नेतृत्वलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यक्रमका संयोजक डा. डिला सङ्ग्रौलाले नेपालमा आधाभन्दा बढी जनसङ्ख्या भएको महिलाहरु कांग्रेसको नेतृत्वमा पुग्न नसकेको गुनासो गरिन् । उनले संविधानले राज्यको हरेक निकाय र पार्टीको हरेक संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गरे पनि उक्त अधिकारको पालना नभएको गुनासो गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७