ओलीको ‘अल्टिमेटम’ आज सकिँदै, नेपाल पक्ष भन्छ, ‘सांसद पद गए जान्छ, हस्ताक्षर फिर्ता हुँदैन’


२१ असार २०७८, सोमबार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट निवेदनबाट पार्टीका सांसदका हस्ताक्षर फिर्ता गराउन प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दिएको समय सीमा (अल्टिमेटम) आज सकिँदै छ ।

एमाले केन्द्रीय कमिटी वैठकबाटै अध्यक्ष ओलीले आज (सोमबार) ५ बजेभित्रमा हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका छन् । प्रतिनिधि सभा पुनः स्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै १४६ सांसदले अदालतमा दर्ता गराएको रिट निवेदनमा नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका छन् ।

तसर्थ पार्टी एकता गर्ने हो भने ती हस्ताक्षर आज (सोमबार) अपराह्न ५ बजेभित्र फिर्ता लिन प्रधानमन्त्री ओलीले नेपाल पक्षका सांसदलाई निर्देशन दिएका हुन् । अन्यथा उनीहरू एमाले नेता–कार्यकर्ता नरहने ओलीले चेतावनी दिएका छन् ।
नेपाल पक्ष भन्छ, ‘सांसद पद गए जान्छ, हस्ताक्षर फिर्ता लिँदैनौं’
यता नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको थियो । ओलीले नेता नेपालसँग भेट्न खोजे पनि नेपालले भने अस्वीकार गरेका थिए । त्यसपछि ओलीले नेता भीम रावलसँग आइतबार बेलुका दुई घण्टा बढी छलफल गरेका थिए ।

नेपाल पक्षका एक सांसद्ले आज (सोमबार) विहान अनौपचारिक छलफलमा भने, ‘अहिले हस्ताक्षर फिर्ता लिने भन्ने कुरै रहँदैन । सांसद पद गए जान्छ तर अहिले हस्ताक्षर फिर्ता लिने सम्भावना छैन । अदालतको फैसला नआउञ्जेल केही हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७