नेपाल प्रहरीलाई नेपाली सेनाद्वारा हतियार हस्तान्तरण


२१ असार २०७८, सोमबार
army hatiyar kg2XE8GlrH

काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका हतियार हस्तान्तरण गरेको छ । जंगी अड्डामा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभिन्न किसिमका ३ सय नाल हतियार तथा सोको ४२ हजार ३ सय ७० गोटा एम्युनिसन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका छन् ।

नेपाली सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिनगनहरु गरी जम्मा १० हजार ८१८ नाल र सोको एम्युनिसन गोटा १४ लाख ९४ हजार १६ उपलब्ध गराउने मन्त्रिपरिषद्को २०७८ जेठ १७ गतेको बैठकले निर्णय गरेको थियो । सोही बमोजिम तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको हो ।

उक्त हतियार तथा एम्युनिसन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिसन २०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने उक्त अवसरमा जानकारी दिइएको छ । उपलब्ध गराइएका हतियारहरुको मर्मत सम्भार तथा अपरेसन तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ ।

उक्त अवसरमा नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्रमणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाबीच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिसन हस्तान्तरण सम्बन्धी सम्झौता पत्र आदान प्रदान भएको थियो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापालाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७