गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग


२२ असार २०७८, मंगलवार
laligurash 2

म्याग्दी, २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ ।
अन्नपूर्ण–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ‘ट्रेल’ (घोडा मार्ग) निर्माण भएको हो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीबाराही ताल जोड्ने मार्गमा प्रदेश सरकारले चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेला समेत बनाएको छ ।

घोडेपानी भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले जानकारी दिए । ‘घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ट्रेक (घोडा हिँड्ने) मार्गका साथै चरा अवलोकन स्थल र तबेला निर्माण गरिएको छ’, उनले भने, ‘सडकका कारण छोटिएको पर्यटकको बसाइ लम्ब्याउन सहायक गन्तव्य बनाएका हौं ।’ कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्था भए पनि वनमा असर नपुग्ने गरी स्थानीय युवकयुवती र मजदुर परिचालन गरेर मार्ग बनाइएको हो ।

घोडेपानी–प्यारीबाराही मार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट फरक–फरक ठाउँमा डेढ मिटर फराकिलो तीनरतीन किलोमिटरको साइकल र घोडा मार्ग निर्माण भएको सहायक वन अधिकृत नवीन विश्वकर्माले बताए ।

‘लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकन स्थल बनाइएको छ’, उनले भने, ‘गुराँसे जङ्गलको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण श्रृङ्खलाका हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।’ यसैगरी भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ ।

घोडेपानी आसपासका सम्भावित नयाँ पर्यटकीय गन्तव्य स्थलमा पूर्वाधार विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले नयाँ अवधारणाको मार्ग बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

घोडेपानी र प्यारीबाराही क्षेत्रमा ठूलो गुराँसको जङ्गल छ । जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको बसोबास छ । जैविक विविधताका हिसाबले पनि यो पदमार्ग आकर्षक छ । घोडेपानी र प्यारीबाराही तालको नजिकै पर्ने फूलबारीमा प्रदेश सरकारकै १० लाख सहयोगमा गुराँस पार्क स्थापना भएको छ ।

घोडेपानीबाट पर्यटकहरु घोडा र साइकल दुवै चढेर प्यारीबाराही ताल जान तथा आउन सक्ने भएका छन् । जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना छ । तालमा हिमालको छायाँ देखिन्छ । जनैपूर्णिमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकांक्ष पूरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ । करिब २०० मिटर लम्बाइ र १०० मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात एउटा चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७