एमाले एकता : आज पनि कार्यदलको बैठक बस्दै


२२ असार २०७८, मंगलवार
Cpn Uml Leaders scaled

काठमाडौं, २२ असार । नेकपा एमालेको एकता जोगाउन पुनः सक्रिय गराइएको नेकपा एमाले कार्यदलको बैठक आज (मंगलबार) पनि बस्दैछ । कार्यदलको बैठक हिजो बेलुका पनि पनि बसेको थियो ।

दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका एक जना सदस्य एमाले सचिव गोकर्ण विष्टले जानकारी दिएका छन् । एमाले विवाद चर्किदै गएपछि निस्क्रिय भएको कार्यदल सोमबारदेखि पुनः ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको नेताहरुले बताएका छन् ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्न छलफल शुरु भएको छ । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने कार्यदलका सदस्यहरुले बताएका छन् ।

जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७