आफूखुशी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यादव बर्खास्त


२२ असार २०७८, मंगलवार
madhyapaschim uni

काठमाडौं, २२ असार । आर्थिक प्रलोभनमा परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुशी नम्बर दिएर उत्तीर्ण गराएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध गरेकाले सेवाबाट बर्खास्त गरेको हुँ ।’

विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो । त्यस विषयमा छानविन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अक्षम्य अपराध भएको ठहर गर्दै विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । ‘छानविन समिति बनाएर, सफाइको मौका दिएर बर्खास्तको निर्णय गरिएको छ,’ उपकुलपति सिंहले भने ।

मध्यपश्चिम विश्वविद्यालयमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुने गर्दछ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुशी नम्बर दिएको पाइएको छानविन समितिको ठहर छ । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ । यसैगरी कन्सट्रक्सन म्यानेजमेन्टका चार वटै विषयमा विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ ।

परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंह बताउँछन् । उनले भने, ‘मबाट गल्ती भयो, माफ पाउँ भनेका छन्, तर मैले माफ दिन सक्दिनँ । विश्वविद्यालय सुधार गर्ने कसम खाएको हुँ, सुधार गरेरै छाड्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७