यस्ता हुन्छन् पहिरो जान लागेका ९ संकेत, यी हुन् बच्ने ६ उपाय (भिडियो)


२२ असार २०७८, मंगलवार
ishma pahiro 1

काठमाडौं, २२ असार । अहिले देशभर मनसुन सक्रिय छ । दिनहुँजसो हुने बर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम छ । वर्षाको समयमा पहाडी भेगमा पहिरोको जोखिम बढी हुन्छ । यसै वर्षको बाढी पहिरो र डुबानबाट नेपालमा ४० भन्दा बढीको ज्यान गइसकेको छ । मनसुन शुरु भएसँगै सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा ठूलो बाढी–पहिरो गएको छ । अन्य जिल्लामा पनि बाढी–पहिरो र डुबानबाठ धनजनको क्षति भएको छ ।

पहिरो जान नदिन विभिन्न कार्य गरेर पूर्व तयारी अपनाउन सकिन्छ । त्यस्तै, पहिरोका पूर्व संकेतहरु पनि देखिन्छ । समयमै ती कुरामा ध्यान दिए क्षति कम गर्न सकिने भूगर्भविद् बताउँछन् ।

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटाका अनुसार सधैं पहिरो जान लागेको पूव केत पाइँदैन । तर, कहिले–काहीं पहिरोका पूर्व संकेतहरु पाइन्छ । जियोलोजिस्ट बास्कोटाले पहिरोका पूर्व संकेत र पहिरोबाट जोगिन गर्नुपर्ने पूर्वतयारीबारे बताएका छन् । त्यसलाई यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ :

पहिरो आउन लागेको कसरी थाहा पाउने ?
१. घर–आँगन, बस्ती वरिपरि चिरा परेको देखिनु ।
२. जमिनबाट कटकट गर्ने आवाजहरु आउनु ।
३. रुख र बिजुलीका पोलहरु ढल्किएको देखिनु ।
४. पानीका मूलहरु अस्वाभाविक रुपमा सुक्नु अथवा मूलहरु बढ्नु, नयाँ ठाउँमा मूलहरु देखापर्नु र भइरहेका मूलहरुबाट धमिलो पानी आउनु ।
५. भिरालो जमिनबाट ढुंगा माटो खस्नु ।
६. ठाडो खोल्साहरुमा एक्कासि बहाव रोकिनु । माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुनसक्छ ।
७. घरका झ्याल–ढोकाहरु एक्कासि बन्द गर्न र खोल्न अप्ठ्यारो हुनु ।
८. घरका भित्ता र भुइँमा चिराहरु देखिनु ।
९. बस्तीभन्दा तलपट्टि ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रुपमा जमिन कटान गर्न लागेको छ भने अब पहिरो जाँदै छ भनेर बुझ्नुपर्छ । तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन जरुरी हुन्छ ।

पहिरो जान नदिन पूर्व तयारी कसरी गर्ने ?
१. बर्सातभन्दा अगाडि नै भेल–पानीलाई बस्तीनजिक अथवा कमजोर भूभागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिने ।
२. बर्सातअगाडि घर वरपर साना कान्लाहरुमा चिराहरु देखिएको छ भने चिम्टाइलो माटो लगेर त्यसमा खाँद्ने, पुर्ने । सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भन्नका लागि त्रिपाल वा प्लास्टिकले छोप्ने ।
३. पुरानो पहिरो गएको स्थानमा बस्ती नबसाल्ने ।
४. नदी–नालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने । यसमा विभिन्न इन्जिनियरिङ डिजाइनहरु पनि पर्छन् ।
५. जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने ।
६. भिरालो डाँडा वा पहाडको ठ्याक्कै मुनि बस्ती नबसाल्ने ।

हेर्नुस् भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७