जसपामा जुटेन सहमति, फुट्ने सहमति गरेर निर्वाचन आयोगबाट बाहिरिए नेता


२२ असार २०७८, मंगलवार
upendra

काठमाडौं, २२ असार । निर्वाचन आयोगमा भएको मेलमिलापको प्रयास असफल भएपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरु फर्किएका छन् । आधिकारितकता विवादका कारण फुटतिर अघि बढेको छ । आज (मंगलबार) निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।

मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । छलफलपछि निर्वाचन आयोग स्रोतले भन्यो, ‘उहाँहरु एकताका लागि सहमत हुन भएन । तर फुट्नका लागि सहमत हुनुभयो । अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ ।’

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ । अब निर्वाचन आयोगले आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ ।
आजको बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए ।

यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी थिए । यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएको थियो । यादव पक्षको निवेदनपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७