सिंहदरबारमा एमाले कार्यदलको बैठक शुरु, सहमतिको मस्यौदा तयार पार्ने


२२ असार २०७८, मंगलवार
Cpn Uml Leaders scaled

काठमाडौं, २२ असार । पार्टीको एकतालाई जोगाउन पुनः सक्रिय नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ ।
सिंहदरबारमा केहीबेरअघि शुरु भएको बैठकले पार्टी एकीकरणको मस्यौदा तयार पार्ने नेताहरुले बताएका छन् । कार्यदलको बैठक हिजो पनि बसेको थियो ।

बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको अल्टिमेटम दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल– माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन ।

अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्यूँताएर पार्टी विवाद हल गर्न छलफल शुरु भएको छ । आजको बैठकले महत्वपूर्ण निर्णय गर्न सक्ने कार्यदलका सदस्यहरुले बताएका छन् ।

जेठ २ गते बनाइएको कार्यदलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीको तर्फबाट नेता सुवास चन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि फरक फरक गतिविधि गर्दै आएका एमालेका दुई समूहलाई मिलाउन दोस्रो तहका नेताहरु सक्रिय भएर लागेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ०७५ जेठ २ अघिको अवस्थामा पार्टीलाई फर्काउनु पर्ने बताउँदै आएका छन् भने ओली समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने बताउँदै आएका छन् ।
सांसदहरुले हस्ताक्षर फिर्ता लिए प्रतिनिधिसभा पुनर्स्थापित भएको अवस्थामा पनि संसदम आफ्नै पार्टी बलियो हुने र सत्ता तत्काल छोड्नु नपर्ने बुझाइ ओली समूहको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७