एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने


२२ असार २०७८, मंगलवार
Cpn Uml Leaders scaled

काठमाडौं, २२ असार । नेकपा एमालेको एकता जोगाउनका लागि आज (मंगलबार) बसेको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
सिंहदरबारमा बसेको बैठकमा व्यवस्थित ढंगले छलफल भएको नेता गोकर्ण विष्टले जानकारी दिएका छन् । बैठकमा पहिले भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको एक नेताले बताएका छन् ।

‘विभिन्न विषयमा रहेका असहमतिमाथि खुलारुपमा छलफल भयो । कुनै ठोस निर्णय भएन’, कार्यदलका एक नेताले भने, ‘बैठक भोलि बिहान ८.३० बजे फेरि बस्ने निर्णय गरियो ।’ अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेको हल्ला चलेको थियो । तर, बैठकमा त्यस विषयमा कुनै छलफल नभएको नेता रघुजी पन्तले जानकारी दिएका छन् ।

कार्यदलको बैठक हिजो पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए ।

गएको शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार (हिजो) साँझसम्मको ‘अल्टिमेटम’ दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद हल गर्न छलफल शुरु भएको हो ।

गएको जेठ २ गते बनाइएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७