साउदी जाने र आउने श्रमिकलाई हिमालय एयरलाइन्सको ठगी


२३ असार २०७८, बुधबार
himalaya airliance2021 07 07 05 36 51

काठमाडौं, २३ असार । हिमालय एयरलाइन्सले रोजगारीका लागि साउदी अरेबिया जाने र आउने निमुुखा नेपालीलाई हवाई टिकट र होटेल क्वारेन्टिनका नाममा चरम शोषण गरिरहेको छ । यो एयरलाइन्समा सरकारले अतिरिक्त संरक्षण गरेको यती समूहको लगानी छ ।

साउदी अरेबियाको उडानमा अर्को प्रतिस्पर्धी नभएको फाइदा उठाउँदै हिमालयले क्वारेन्टिनसहित एकतर्फी भाडा नै दुई लाख रुपैयाँसम्म असुली गरिरहेको छ । जब कि सामान्य अवस्थामा साउदीको दुईतर्फी भाडा नै ३० देखि ४५ हजार रुपैयाँ मात्रै हुन्छ ।
हिमालयले होटेल क्वारेन्टिनसहितको प्याकेज जोडेर चार्टर उडानको एकतर्फी भाडा नै दुई लाख र नियमित उडानतर्फ एक लाख ९० हजार रुपैयाँसम्म असुली गरिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का वरिष्ठ उपाध्यक्ष विनय बस्नेतले बताए ।

साउदी अरेबियाका लागि नियमित उडान खुले पनि नेपाल एयरलाइन्सले उडान गर्न सकेको छैन । साउदीमा जिएसए नियुक्त नभएकाले उडान हुन नसकेको नेपाल एयरलाइन्सको भनाइ छ । स्रोतका अनुसार नेपाल वायुसेवा निगमको सञ्चालक समिति तथा व्यवस्थापनमा रहेका यती समूहका एजेन्टहरूले साउदीमा जिएसए नियुक्त गर्ने विषयमा अवरोध सिर्जना गरिरहेका छन् ।

सञ्चालक समितिमा रहेका फुर्वा ग्याल्जेन शेर्पा, ईश्वरी पौडेल र किशोर प्रधानले यती समूहका प्रतिनिधिका रूपमा काम गरिरहेको स्रोतको भनाइ छ । ‘उनीहरूले जिएसए नियुक्तिमै अवरोध सिर्जना गरिरहेका कारण अहिले हिमालय एयरलाइन्सले साउदी अरबमा एकछत्र व्यापार लिएको छ,’ स्रोतले भन्यो ।

एयरलाइन्स कम्पनीहरूले चार्टरमा लुट गर्ने मात्रै होइन, नियमित उडानमा पनि चर्को भाडा असुल गरिरहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष बस्नेतले बताए । ‘एयरलाइन्स कम्पनीहरूले क्वारेन्टिनको रकम कति हो, एयरलाइन्सको भाडा कति हो ?’ उनले भने, ‘एयरलाइन्स कम्पनीहरूसँग कुन–कुन एजेन्सी र होटेल तथा सरकारी कर्मचारीहरूको मिलेमतो छ, छानबिन गरेर कारबाही गर्नुपर्छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा चर्को भाडाका सम्बन्धमा दुई साता अगाडि नै छानबिन समिति गठन गरेको छ । समितिले छानबिन प्रतिवेदन केही सातामै सम्पन्न गर्ने गरी काम गरिरहेको र गल्ती गरेका सबैलाई कारबाहीको सिफारिस गर्ने संयोजक पोखरेलले बताए । अहिले साउदीमा बढी समस्या देखिएकाले ट्राभल एजेन्सीदेखि एयरलाइन्स कम्पनीहरूसँग पनि विवरण मागिरहेको उनले बताए । ‘हामीले जाने र आउने यात्रुसँग नै टिकट चेक गरिरहेका छौं, कतिलाई युनिट बनाएर सोधपुछ समेत गरिरहेका छौं,’ पोखरेलले भने ।

सरकारले बिस्तारै धेरै देशमा अब नियमित उडान खुला गरेर यात्रुलाई सस्तोमा उडान गराउने प्रक्रियामा गएकाले निगम पनि सोही बाटोमा रहेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए । ‘साउदी अरेबियामा जिएसए नियुक्त हुन नसक्दा निगमले उडान गर्न पाएको छैन, अब जिएसएको प्रक्रिया पनि अगाडि बढाउँछौं,’ पौडेलले भने ।

पछिल्लो समयको निषेधाज्ञामा नेपाल एयरलाइन्सले पाउने बिजनेस हिमालयलाई दिलाउन पनि निगममा रहेका यतीका एजेन्टहरूले भूमिका निर्वाह गरेका थिए । निषेधाज्ञाका बीचमा हिमालयले एक सय ६८ वटा उडान गरेको थियो, त्यसमध्ये एक सय १६ वटा चार्टर उडान थिए । जब कि ४१ दिनको निषेधाज्ञामा निगमले ८९ उडान मात्रै गरेको थियो ।

साउदी अरेबियाले भारतमा उडान रोकेपछि भारतीयहरू नेपालको बाटो हुँदै साउदी गएका थिए । ती भारतीयलाई नेपाल वायुसेवा निगमले दिल्लीबाट ल्यायो, तर साउदी अरेबिया लैजान भने निगमले पाएन । ती सबै यात्रुलाई हिमालय एयरलाइन्सले साउदी लगेको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७