१६० देशका नेतालाई सीले भने–महामारीलाई राजनीतिकरण नगरौं

नेपाली नेताले पाएनन् सम्बोधनको अवसर


२३ असार २०७८, बुधबार
china2021 07 07 06 05 07

काठमाडौं, २३ असार । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड– १९ का विषयमा ‘केही मुलुक’ ले राजनीति गरेको आरोप लगाउँदै राजनीतीकरणविरुद्ध आवाज उठाउन आह्वान गरेका छन् ।

विश्वका राजनीतिक दलका शीर्ष नेतासँग चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट आयोजना गरेको राजनीतिक सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले कोरोना भाइरसलाई चीनसँग जोडेर टीका–टिप्पणी भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

विश्व राजनीतिक सम्मेलनमा एक सय ६० राजनीतिक दलका शीर्ष नेता एवं करिब दश हजार प्रतिनिधि भर्चुअल माध्यममा एकै साथ सहभागी थिए । सम्मेलनमा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा सभागी थिए । स्वास्थ्यको कारण देखाउँदै कांग्रेस सभापति शेरबहादुर देउवा भने सम्मेलनमा सहभागी भएनन् ।

विश्व राजनीतिक सम्बोधनको सुरुमा चिनियाँ राष्ट्रपति सीले प्रमुख वक्ताको हैसियतमा बेइजिङबाट सम्बोधन गरेका थिए । त्यसपछि दक्षिण अफ्रिका, क्युबा, बोलिभिया, प्यालेस्टाइन, मोरक्को, भियतनामलगायतका नेताले सम्बोधन गर्ने अवसर पाएका थिए ।

नेपालबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिए पनि दर्शकका रूपमा मात्रै सहभागी भए । सम्बोधन गर्ने अवसर नआउने संकेत पाएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपाका शीर्ष नेताले भिडियो सन्देश पठाएका छन् । यसअघि पाँच–पाँच मिनेट सम्बोधन गर्ने अवसर रहेको भनिए पनि नेपाली शीर्ष नेताले बोल्ने अवसर पाएनन् ।

‘नेपालका नेताहरूले भिडियो सन्देश पठाएका छन्, सबै नेताले पठाएको भिडियो सम्बोधन चिनियाँ कम्युनिस्ट पार्टीले वेबसाइटमा राख्ने भनेको छ,’ कार्यक्रममा सहभागी राप्रपा नेता शोभित उप्रेतीले भने, ‘सम्मेलनमा नेपाली शीर्ष नेताले बोल्ने कार्यक्रम नभएपछि सन्देश पठाइएको हो ।’

दक्षिण एसियाबाट पाकिस्तानका प्रधानमन्त्री इमरान खान र श्रीलंकाका प्रधानमन्त्री महिदा राजापाक्षेले मात्रै सम्मेलनमा सम्बोधन गर्ने अवसर पाएका छन् । भर्चुअल सम्मेलनमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवालीलगायत नेता सहभागी थिए ।

माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, देवेन्द्र पौडेल, वर्षमान पुनलगायत थिए । कांग्रेस सभापति देउवा सहभागी भएनन्, तर नेताहरू डा. प्रकाशशरण महत र डा. नारायण खड्का सहभागी भए । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र नेता शोभित उप्रेती पनि सम्मेलनमा सहभागी भए ।

विकास सीमित मुलुकको विशेष सुविधा होइन : सी

चिनियाँ राष्ट्रपति सीले सिपिसी स्थापनाको सय वर्षको बीचमा भएका प्रगतिबारे जानकारी दिँदै विकास सीमित मुलुकको विशेष सुविधा नभएर सबैको समान अधिकार रहेको बताए । उनले मानव समुदाय ऐतिहासिक मोडमा रहेको भन्दै सबै मानव जातिको हित हुने गरी अघि बढ्न सहभागी पार्टी नेताहरूलाई आह्वान गरे ।

पश्चिमा जगत्ले चीनलाई अप्रजातान्त्रिक मुलुक भनेकोतर्फ लक्षित गर्दै राष्ट्रपति सीले त्यसको प्रतिवाद गरे । ‘कुनै मुलुक प्रजातान्त्रिक हो कि होइन भन्ने कुरा बाहिरी दुनियाँका सीमित केही समूहले भनेका आधारमा होइन, जनभावनाका आधारमा फैसला हुनुपर्छ,’ राष्ट्रपति सीले भने ।

राष्ट्रपति सीले सीमित मुलुकको हितमा होइन, सबैको हित हुने बहुपक्षीयताका पक्षमा जोड दिनुपर्ने पनि बताए । संयुक्त राष्ट्रसंघको बडापत्रका आधारमा बहुपक्षीय सहकार्यमा जानुपर्ने उनको भनाइ छ । उनले सबैको हित र सबैलाई फाइदा हुने गरी आर्थिक भूमण्डलीकरणको अवसर सिर्जना गर्नुपर्ने पनि उल्लेख गरे ।

सीले गरिबी निवारणको चिनियाँ अनुभव सुनाउँदै जनताको हितमा एकताबद्ध हुन सबैलाई आह्वान पनि गरे । ‘अहिलेको प्राथमिकता जनताको सुरक्षा, अर्थतन्त्रको पुनर्जीवन हो भन्नेमा शंका छैन,’ राष्ट्रपति सीले भने, ‘अहिलेको महामारीलाई हामीले सहकार्यमार्फत पार लगाउनुपर्नेछ । तपाईंहरू सबैसँग हातेमालो गर्न हामी तयार छौँ ।’

राष्ट्रपति सीले वार्ता र छलफलबाट अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनेमा पनि जोड दिए । ‘आगामी बाटो लामो छ, मिहिनेतपूर्वक अघि बढ्यौँ भने हाम्रो भविष्य सुन्दर छ, भविष्य उज्ज्वल छ,’ राष्ट्रपति सीले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७