बाढीले गाडी बगाउँदा पर्वतमा इन्जिनियरसहित तीन जना बेपत्ता


२३ असार २०७८, बुधबार
parbat copy

पर्वत, २३ असार । पर्वतमा सडक निर्माणमा खटिएका इन्जिनियरसहित तीन जना सवार गाडी बाढीले बगाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने कुस्मा नजिकको सुन्दरखोलाले गए राति करिब ११ बजे गाडी बगाउँदा त्यसमा सबार तीन जना बेपत्ता भएका पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिएकी छिन् ।

‘राति करिब ११ बजे खोला पार गर्ने क्रममा उहाँहरुलाई बाढीले बगाएको हो,’ प्रमुख जिल्ला अधिकारी खत्रीले बुधबार बिहान भनिन्, ‘रातिदेखि नै बेपत्ता यात्रु र गाडीको खोजी भइरहेको छ, तर, अझै फेला पार्न सकिएको छैन ।’ प्रजिअ खत्री, डिएसपी शिवराज बुढाथोकीसहितको टोली अहिले घटनास्थलमै छ ।

निर्माण कम्पनी लामा कन्ट्रक्सनको उक्त गाडिमा इन्जिनियर राजाराम आचार्य, गाडीका चालक र एक जना स्थानीयबासी सबार थिए। गाडीका चालक र स्थानीयको भने नाम खुल्न बाँकी रहेको पर्वतका प्रहरी प्रमुख डिएपी शिवराज बुढाथोकीले जानकारी दिए । बेपत्ता भएको गाडी नम्बर पनि खुलेको छैन ।

पर्वत सदरमुकाम कुस्माबाट पर्वतकै डिमुवातर्फ जाँदै गर्दा कुस्मा नजिकै पर्ने मध्यपहाडी लोकमार्गको सुन्दरखोलामा आएको बाढीले गाडी बगाएको हो । बाढी पहिरोको कारण अहिले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बन्द भएको छ । बाढी पहिरोले पर्वतका तीन–चार वटै सडक खण्ड बन्द भएका डिएसपी बुढाथोकीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७