बैतडीका ३० बस्ती पहिराेको उच्च जोखिममा


२३ असार २०७८, बुधबार
bajurakiudi60407546ka 0572021023133 1000x0 1
फाइल फोटो

बैतडी, २३ असार । बैतडीमा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दुवै योजनामा विपद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका छन् । प्रत्येक क्षेत्रका योजना समावेश गरिएका र जिल्लामा हुनसक्ने विपद्का घटनाको क्षति न्यूनीकरणका लागि कसले के गर्ने भन्ने विषय योजनामा समेटिएको छ । योजनामा पूर्वतयारी र प्रतिकार्यका कुरा समेटिएका छन् । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जिल्लामा यिनै योजनाअनुसार काम हुने सूचना अधिकारी भारतीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले पारित गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ मा जिल्लाका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । दोगडाकेदार गाउँपालिका–६ को सित्तड, पञ्ज्युनयाँ, वडा नं ८ को कालागाउँ, वडा नं ३ कुकुडेपानी र श्रीकोटमा पहिराको उच्च जोखिम छ ।

यस्तै मेलौली नगरपालिकाको वडा नं १ जर्कुधार, नागनी, सिराडसेला, वडा नं ३ को कुचगाड, गगनरोडा, पोखरी, वडा नं ७ को तोल्या, वडा नं ८ को ल्वास, गैरी, मटुवा, खोली, वडा नं ९ को काँकडी, कोल्तडी, असुर र कमेट्ठामा पनि पहिराको जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाको वडा नं ६ को बाङ्गाबगर, सौनागाउँ, वडा नं ३ को रुद्रेश्वरमा पहिराको जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको वडा नं ८ ढोल्या, वडा नं ३ भौनेली, पाटन नगरपालिकाको वडा नं ८ सिद्धेश्वर पनि पहिराको उच्च जोखिममा रहेको जनाइएको छ ।

यसैगरी सिगास गाउँपालिकाको ढुङ्गाड, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ को गनकट्टे, चनतडा, बसेक, सन्तुला, डिम्बर र वडा नं ६ को रोडीदेवल बस्ती पहिराको उच्च जोखिममा रहेको छ । त्यस्तै पुर्चौंडी नगरपालिका–८ मल्लादेही पनि पहिराको जोखिममा रहेको जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले पहिराको उच्च जोखिम भएका स्थानको पहिचान गरी क्षति न्यूनीकरणका लागि पूर्वतयारी समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७