सुजिताको पोष्टमार्टम रिपोर्टमा के देखियो ?


२३ असार २०७८, बुधबार
Sujita BHandari

काठमाडौं, २३ असार । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टमा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनको शरीरमा कुनै पनि प्रकारको चोट पटक नदेखिएको प्रहरीले जानकारी दिएको छ ।

‘रिपोर्टमा मृत्युको कारण खुल्न सकेन । शरीरका कुनै पनि भागमा चोट छैन’, प्रहरीका एक अधिकारीले भने, ‘जबरजस्ती करणी गरेको पनि देखिएको छैन । यसले अनुसन्धानलाई थप पेचिलो बनाएको छ । अब उनको शरीरमा विषादीको मात्रा थियो वा थिएन लगायतका परीक्षण ल्यावमा हुनेछ ।’ मृत्युबारे जानकारी लिन अव सुजिताको भिसेरा परीक्षण गरिने जनाइएको छ । जसमा उनले जीवितै कुनै कुरा खाएको, सेवन गरेको वा अन्य गम्भीर रोग थियो कि भन्नेबारे त्यसपछि मात्रै खुल्ने प्रहरी अधिकारी बताउँछन् ।

असार ११ गतेबाट बेपत्ता भएकी सुजिता आइतबार चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन् । पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि प्रहरीले हत्या वा आत्महत्या के हो भन्न सकेको छैन । भिसेरालगायतको रिपोर्ट आएपछि आफूहरुलाई अनुसन्धानमा सहज हुने प्रहरी अधिकारीहरुको विश्वास छ ।

सुजिताको हत्या भएको आफन्त र स्थानीयको दाबी छ । सुजिताले असार ११ गते दिदीलाई आफूलाई दुई महिला र एकजना पुरुषले गाडीमा हालेर लैजान खोजेको बताएकी थिइन् । असार ११ गते १२ बजेर ४३ मिनेटसम्मको समयमा सुजिताको मोबाइल अन भएको र त्यसपछि अफ भएको पाइएको एक प्रहरी अधिकारीले बताए ।

सुजिताको शव भेटिएको स्थानमा विषादीको बट्टा पनि भेटिएको थियो । घटनास्थलभन्दा केही पर उनले प्रयोग गर्दै आएको मोबाइल समेत भेटिएको छ । तर सिमकार्ड भने फेला परेको छैन । प्रहरीले मोवाइलसँगै सुजिताले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको समेत प्राविधिक विश्लेषण गरिरहेको छ ।

आफन्तले सुजिताको अहरणको दाबी गरे पनि अनुसन्धानमा अपहरणको संकेत नदेखिएको प्रहरी अधिकारीहरु बताउँछन् । एक अधिकारी भन्छन्, ‘अपहरणको संकेत फेला परेको छैन । तर सुक्ष्म अनुसन्धानमै छौं । मोबाइल फेला परेकाले अनुसन्धानमा केही सहजता हुनेछ । त्योभन्दा पनि विषादी सेवन लगायतको रिपोर्ट हाम्रा लागि महत्वपूर्ण छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७