राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्नुस्, ओली राष्ट्रवादी नेता हो : खिमलाल भट्टराई


२३ असार २०७८, बुधबार
Khimlal Bhattrai

काठमाडौं, २३ असार । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्राईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आज (बुधबार) बसेको बैठकको विशेष समयमा बोल्दै भट्टराईले बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भए पनि कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौं मेरो यो अनुरोध छ ।’

वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको दाबी गर्दै उनले सरकारका काम कारबाहीको बचाउ गरे । कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको उनको जिकिर गरे ।

उनले भने, ‘जुन प्रतिनिधिसभाले कानुन बनाउन सक्दैन, जसले सरकारलाई काम गर्न दिँदैन र वैकल्पिक सरकार दिन सक्दैन भने त्यस्तो औचित्य के रहन्छ, प्रयोजन के रहन्छ ? प्रश्न उठ्दैन र ? यस्तो अवस्थामा प्रतिनिधिसभा विघटन हुनु असाध्यै लोकतान्त्रिक र संवैैधानिक हुन जान्छ भन्ने मलाई लाग्छ ।’

भट्टराईले जनतामा जाने कदमलाई अलोकतान्त्रिक भन्न सुहाउँछ भन्दै प्रश्न गरेका छन् । सरकार बनाउनका लागि अदालतमा मुद्दा हालिएको प्रसङ्ग कोट्याउँदै उहाँले अदालतले सरकार बनाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै ओलीलाई राष्ट्रियता विरोधी भनि प्रमाणित गर्न पूर्व प्रधानमन्त्रीहरूलाई चुनौती दिए ।

उनले भने, ‘म चुनौती दिन चाहन्छु, केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औंलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन ।’ उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७