नेकपा माओवादी केन्द्र खारेजको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता


२४ असार २०७८, बिहीबार
Perishdanda 2

काठमाडौं, २४ असार । नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै दल दर्ता खारेज गर्ने मागसहित निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।

अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्रले वैधानिकता गुमाइसकेको हुँदा नेपालको संविधान एवं राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम माओवादी केन्द्र खारेज गर्न अनुरोध गर्दै निवेदन दर्ता गराएका छन् । निवेदन दिन अधिवक्ता बुढाथाकीसँगै माओवादी केन्द्रबाट एमाले गएका लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए ।

माओवादी केन्द्रले २०६९ देखि महाधिवेशन गरेको छैन । २०६४ सालमा नेकपा (माओवादी) को नाम निर्वाचन आयोगमा दर्ता भएको थियो । २०६५ सालमा एकीकृत नेकपा माओवादी भनी नाम परिवर्तन गरिएको थियो । २०६९ माघ २० देखि २६ सम्म महाधिवेशन भएको थियो । त्यो महाधिवेशनबाट १ सय १ सदस्यीय केन्द्रीय सदस्य निर्वाचित भएका थिए । आयोगमा पेस गरेको २०६९ को विधानको धारा १४ मा ५ वर्षमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ । त्यसपछि महाधिवेशन भएको छैन ।

आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले नेकपा (माओवादी केन्द्र) को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल खारेज गरी पाउँ भनेर निवेदन आएको जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७