होली खेलिसकेपछि के गर्ने ?


१७ फाल्गुन २०७४, बिहीबार

काठमाण्डौं, १७ फागुन : आज होली पर्व उपत्यका लगायत देशका पहाडी क्षेत्रहरुमा धुमधामका साथ मनाइँदै छ । तराई क्षेत्रमा भने यो पर्व भोली मनाइन्छ । रङहरुको यो पर्वमा तपाईले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ ।

रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । यस्तै यो पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ । अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छ ।

चिकित्सकहरुका अनुसार होलीमा उपयोग गरिने रंग, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ । त्यसैले रंग वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ । होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रंग परिवर्तन हुने वा छाला सुक्खा हुने समस्या देखिने गरेको छाला रोग विशेषज्ञ बताउँछन् । डा. अनिल झाका अनुसार रंगहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाइ समेत क्षती र्पुयाउने गर्दछ । उनका अनुसार होलीको रंगहरुमा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ हुने भएकाले रंग खेल्दा निकै होस गर्नुपर्छ ।

विज्ञहरुका अनुसार होलीमा प्रयोग हुने ‘हरियो रंग कपर सल्फेट, बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छ । जस्का कारण हरियो रंगले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउने, छाला रोग लाग्ने हुन सक्छ । यस्तै, बैजनी रंगले दम र एलर्जी हुने, चम्किलो रंगले क्यान्सर हुनसक्ने, नीलो रंगले छालामा एलर्जी गराउने, रातो रंगले छालाको क्यान्सर हुन सक्ने, तथा स्मरणशक्तिलाई हानि र्पुयाउन पनि सक्छ । यस्का साथै लेड अक्साइडले बनाइने कालो रंगले मृगौलामा समस्या उत्पन्न गराउने चिकित्सकहरु बताउँछन् ।

होलीमा धेरै मात्रामा प्रयोग हुने अबिरमा समेत एसबेस्टस र अभ्रख मिसाइएको हुन्छ । त्यसकारण जथाभावी रुपमा अबिर दल्दा वा खेल्दा दम हुने, छाला र आँखामा जलन र संक्रमण हुने डा. झा बताउँछन् । रंगहरु लामो समयसम्म शरिरमा रहँदा एलर्जी भएर छाला चिलाउने वा पोल्ने हुन्छ । अझ छाला कुनै घाउ तथा डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्न सक्छ । त्यसकारण चिकित्सकहरु होलीमा रंगहरुसँग खेल्दा सचेत हुन आग्रह गर्दछन् । होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाउने तथा टोपीहरु लगाएर मात्र रंग तथा अबिरसँग खेल्न चिकित्सकहरु सुझाउँछन् ।

रंगको दुस्प्रभावबाट बच्न होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनु राम्रो मानिसन्छ । यस्तै कपालमा तेल दल्दा र नङ काटेर पालिस लगाउँदा पनि धेरै जोगिन सकिन्छ । चिकित्सकहरुका अनुसार होली खेलीसकेपछि तुरुन्त सफा पानीले नुहाउनु पर्छ । यसका साथै छालाको जलन हटाउन मोइस्चराइजरको प्रयोग गर्न सकिन्छ । तर, रंग पखाल्ने भन्दै छालालाई बारम्बार साबुन लगाएर रगड्नु भने हुन्न । यसो गर्दा छाला सुक्खा हुने र पोल्ने समस्या बढ्न सक्छ । त्यस्तै, नुहाउनुअघि शरीरमा भएको रंग राम्रोसँग पुछ्नु पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७