विश्वमा कोभिडबाट मृत्यु हुनेको संख्या ४० लाख पुग्यो


२४ असार २०७८, बिहीबार
india 2

काठमाडौं, २४ असार । विश्वभर कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४० लाख भन्दा धेरै पुगेको छ । कोभिडका कारण सबैभन्दा बढी अमेरिकी नागरिकले ज्यान गुमाउँदा दोस्रो स्थानमा छिमेकी देश भारत रहेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख भन्दा बढीको कोभिडबाट ज्यान जाँदा भारतमा ४ लाख भन्दा धेरै व्यक्तिको कोभिडबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस यो तथ्याङ्कले महामारी नियन्त्रण्मा अझै लामो बाटो हिड्नुपर्ने बताउनुभएको छ । विश्वभर कोभिडविरुद्धको खोप लगाउने क्रम सुरु भएकाले आशाको किरण बाँकी नै रहेको पनि ट्वीटरमार्फत उल्लेख गर्नुभएको छ ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्याङ्काका अनुसार विश्वभर अहिलेसम्म साढे १८ करोड भन्दा बढी मानिसमा कोभिड संक्रमण भइसकेको छ । भारतमा अहिलेसम्म ३ करोड भन्दा बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म ३ अर्ब ३२ करोड मानिसलाई कोभिडविरुद्धको खोप दिइसकेको बीबीसीले जनाएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ५० हजार १ सय ६२ जनामा कोभिड संक्रमण हुँदा ९ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको छ । ६ लाख १४ हजार ४ सय २७ जना संक्रमणमुक्त हुँदा आइसोलेसनमा २६ हजार ५ सय ४४ जना सक्रिय संक्रमित छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७