होला त एमाले एकता घोषणा ?


२६ असार २०७८, शनिबार
CPNUML working Team

काठमाडौं, २६ असार । नेकपा एमालेको एकता सहमति नजिक पुगेको छ । कार्यदलले लगातार पाँच दिनदेखि जारी राखेको छलफल, संवाद सहमति नजिक पुगेको बताउँदै शनिबार निष्कर्षमा पुर्‍याउने दुवै पक्षका नेताहरूले जानकारी दिएका हुन् ।

शुक्रबार करिब ७ घण्टा लगातार एकतालाई निष्कर्षमा पुर्‍याउन छलफलमा कार्यदलका नेता लागिपरेका छन् । उनीहरूले सहमतिको दस्तावेज तयार पारेका छन् । शनिबार पार्टी एकताको सहमतिको दस्तावेजलाई अन्तिम रूप दिइने भएको छ ।

बिहीबार नै एकताको घोषणा गर्ने तयारी गरेको कार्यदलमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्तापछि केही कठिनता उत्पन्न भएको थियो । माग र सर्त पनि थपिएका थिए । केन्द्रीय कमिटीमा आफनो पक्षको सन्तुलन हुने पर्ने माग थपेपछि केही समस्या आएको थियो ।

एमाले र माओवादी एकीकरण हुँदा ओलीले आफू पक्षका ३८ र माओवादी केन्द्रबाट आएका २३ जना नेतालाई एकलौटी केन्द्रीय कमिटीमा थपेकोमा त्यसमा आफ्नो पक्षको पनि सन्तुलन हुनुपर्ने भन्दै थप माग माधव पक्षले अघि सारेको थियो । एकीकरणको समयमा थप्ने विषयमा माधव नेपालको पनि सहमति नै थियो । यी विषयमा दुवै पक्षलाई विन–विन हुने गरी सहमति भएको बताइएको छ ।

संस्थापन पक्षको विरुद्ध विपक्षी पक्ष दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालत गएर गरेको हस्ताक्षर फिर्ता विषयमा मौनता जनाउने र फैसलापछि पार्टी निर्णयअनुसार अघि बढ्ने विषयमा सहमति भएको छ । पार्टी एकता पछि देउवाको नाम गरिएको हस्ताक्षरको अर्थ नहुने एक कार्यदलका सदस्यले बताए ।

२०७५ जेठ २ मा फर्किनेमा दुवै पक्ष सहमत नै भइसकेका थिए । हुन त ओलीले जेठ ३ पूर्वको अवस्थामा फर्किने भने पनि जेठ २ कै अवस्था कायम गर्ने विषयमा यसअघि नै सहमति भएको थियो । अब एमालेको जनवर्गीय संगठनदेखि मातहत कमिटी जेठ २ कै अवस्थामा फर्किने छन् । व्यवस्थापनमा समस्या आएमा वा असहमति प्रकट भएमा भने कार्यदल बनाएर टुंग्याइनेछ ।

माधव पक्षका नेता एवं कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सहमति नजिक पुगेको बताउँदै शनिबार टुंगोमा पुग्न सक्ने बताए । ‘सहमति नजिक छौं, शनिबार टुंगोमा पुग्न सकिने छ’, उनले भने ।

बैठकपछि कार्यदलका सदस्य एवम् एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहमतिको हस्तावेजलाई अन्तिम रूप दिन भाषिक शुद्धतालगायतका विषयलाई पूर्णता दिएर टुंग्याउने जानकारी दिए । उनले पार्टी एकता सृदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेको दाबी गरे। ‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहाद्र्र र सघन छलफलमा बिताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं’, उनले भने । उनले एमालेका कार्यकर्ता, समर्थक र शुभचिन्तकले गर्दै आएको पार्टीको भविष्यप्रतिको चिन्ता दूर हुने गरी सहमतिमा गएर शनिबारको बैठक टुंग्याउने जानकारी दिए ।

‘यति चाहिँ म तपाईंहरूलाई सेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरू छन्, त्यसलाई सहमतिको बिन्दुमा ल्याइपुर्‍याएका छौं’, बैठकपछि उनले भने, ‘त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरूले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरूको चिन्तालाई दूर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।’

उनले शीर्ष नेतासँग नियमित परामर्श गरेर फाइनल गरिने पनि जानकारी दिए । नेताहरूसँग आवश्यक परामर्श नियमित रूपमा भइरहन्छ, उनले थपे, ‘शनिबार हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउँछौं ।’

कार्यदलका सदस्य गोकर्ण विष्टले लगभग सहमति भएको बताए । विष्टले एकाध विषय मात्र टुंगिन बाँकी रहेको बताए । ‘धेरै लामो समय बसेका कारणले बाँकी रहेका विषयमा शनिबार बसौं भन्ने कारणले बैठक स्थगन भएको छ । लगभग हामी सहमतिमा पुगेका छौं,’ उनले भने, ‘हामीले छलफल गरिरहेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ । एकाध विषय बाँकी छन् । ती पनि शनिबार टुंगो लगाउँछौं ।’

सहमतिको घोषणा नभएसम्म अझै पार्टी एकता भाड्ने खेल हुन सक्ने कार्यदलका एक सदस्यले बताए । एमाले फुटाएर खेल्न खोज्ने शक्ति क्रियाशील रहेको उनले भनाइ छ । शीर्ष नेतालाई उचाल्न अतिवादी पक्षद्वारा उक्साउने काम पनि भइरहेको उनको दाबी छ । यही जेठ २ मा एकताका लागि बनेको १० सदस्यीय कार्यदलले विगत चार दिनदेखि निरन्तर पार्टी एकताको बैठक, छलफल, संवाद गरिरहेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७