मेलम्ची र हेलम्बुका बाढीपीडितलाई भेट्न प्रधानमन्त्री सिन्धुपाल्चोक जाँदै

राहत प्याकेज घोषणाको तयारी


२६ असार २०७८, शनिबार
PM KP Sharma Oli 2

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओली आज (शनिबार) सिन्धुपाल्चोक जाँदैछन् । मेलम्ची र हेलम्बुका बाढी पीडितलाई भेट्न ओली सिन्धुपाल्चोक जान लागेको जनाइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाँदैछन् ।

ओलीले आज बिहान १० बजे हेलम्बुका बाढी पीडितलाई भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि मेलम्चीमा आएर पीडितहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको जनाइएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले असार १ गते मेलम्ची खोलामा आएको बाढीले पुर्‍याएको क्षति अवलोकन गर्ने जनाइएको छ । ‘प्रधानमन्त्री ज्यूले बाढी–पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्नु हुनेछ,’ सांसद शेरबहादुर तामाङले भने, ‘त्यही कार्यक्रममार्फत् पीडितलाई राहत प्याकेजको पनि घोषणा हुनेछ ।’

गएको ३१ जेठमा इन्द्रावती नदीमा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा ठूलो जनधनको क्षति गरेको थियो । यस वर्षको मनसुनबाट अहिलेसम्म ५१ जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता छन् । बाढी, पहिरो र डुबानबाट ७१ जना घाइते भएका छन् । वेपत्ता हुनेमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी २० जना रहेका छन् ।

बाढी–पहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७