दुर्व्यसनमा फसेका आफ्नै भाइले हतियार प्रहार गरी गरे प्रहरी दाइको हत्या


२६ असार २०७८, शनिबार

मोरङ, २६ असार । मोरङको विराटनगरमा सहोदर भाइले धारिलो हतियार प्रहार गरी दाइको हत्या गरेका छन् । विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेका हुन् ।

भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार लागुऔषधको दुर्व्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

उनका अनुसार पारिवारिक विवादलाई लिएर राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ । गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याएको थियो ।

तर, अस्पताल पुर्‍याउन साथ राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको जिसीले बताए । दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ गरेका बेला उनी रक्सीको नसामा लट्ठ रहेको प्रहरीले जनाएको छ ।

दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो । उनी आफै घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङका सूचक रहेका भोला एक महिनाको तालिम सकेर उनी केही दिन अघि मात्रै विदा लिएर घर आएका थिए । दाजुको हत्यामा संलग्न साजनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७