एमाले कार्यदलको वैठक आज पनि बस्दै, सहमतिको दस्तावेज तयार गर्ने दावी


२६ असार २०७८, शनिबार
CPNUML working Team

काठमाडौं, २६ असार । सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि आज (शनिबार) पनि कार्यदलको बैठक बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेका नेकपा एमाले कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको दावी गरेको छ ।

कार्यदलले आजै विवाद समाधानको दस्ताबेजमा हस्ताक्षर गरेर सार्वजनिक गर्ने दावी गरेको छ । पार्टी विभाजनको सम्भावित संकट टार्न एमालेका दोस्रो तहका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले माओवादी केन्द्रसँग एकता हुनुअघिका संरचना क्रियाशील गराउनेलगायतका विषयमा सहमतिको मस्यौदा तयार गरेको जनाएको छ ।

वरिष्ठ नेता माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता नलिने अडान राखेपछि त्यसबारे कस्तो भाषामा सहमति खोज्ने भन्ने विषय मात्र टुंगिन बाँकी रहेको कार्यदलका सदस्यहरुले बताएका छन् । त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको शक्ति बाँडफाँटको विषय टुंगिएपछि मात्र सहमतिले मूर्तरुप पाउने कार्यदलका सदस्यहरुले बताएका छन् ।

हिजो सिंहदरबारमा झण्डै ७ घण्टा बसेको बैठकमा पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको छ । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको थियो । यस्तै माओवादीसँगको एकतापूर्वको २४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएको थियो ।

प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा भने कस्तो धारणा राख्ने भन्ने विषयमा लामो गृहकार्य र छलफलबाट पनि कार्यदल तहमा सहमति जुट्न सकेको छैन । सहमति जुट्न बाँकी विषयलाई आजको वैठकले टुङ्गोमा पुर्‍याउने कार्यदलका सदस्यहरुले बताएका छन् । सहमतिको अन्तिम खाका पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समक्ष पेस गरिने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७